ताप्लेजुङ (अस) । कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवाहरू प्रभावकारी हुन नसकेको पाइएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङले बिहीवार आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बताएका ह्न् ।
गोष्ठीमा आफ्नो कार्यालयको प्रगति विवरण पेश गर्दै घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनिल आचार्यले न्यून बजेटले विभिन्न समस्याका बीच लक्ष्यअनुसारका काम गर्नुपरेको बताए । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा पनि भ्याईनभ्याई विकट क्षेत्रमा पुगेर काम गर्नुपरेको उनको भनाइ थियो ।
यस्तै, सीमित बजेटले कामले पूर्णता नपाउने गरेको सडक डिभिजन कार्यालय इलामका इञ्जिनीयर महमद हारिज आलमले बताए । बजेट सीमित हुने तर काम चौतर्फी गर्नुपर्दा कामले पूर्णता नपाउने गरेको उनले जानकारी दिए ।
यस्तै आएको बजेट खर्च हुन नसकी फिर्ता हुनुमा पनि कर्मचारीको अभाव, निर्माण पक्षको लापरबाही, समयमा बजेट निकासा नहुनु प्रमुख कारण रहेको कार्यालय प्रमुखहरूले बताएका छन् । कतिपय आयोजनाहरू सञ्चालन गर्न नीतिगत समस्याहरूका कारण अघि बढ्न ढिलाइ हुने गरेको उनीहरूको बुझाइ छ । ताप्लेजुङमा गत आर्थिक वर्ष २०७४/७५ मा ६३ करोडभन्दा बढी रकम खर्च हुन नसकी फिर्ता भएको छ । कुल १ अर्ब ४० करोड ३५ लाख बजेटमध्ये ६३ करोड ८१ लाख रुपैयाँ फ्रिज भएको हो ।
दुईदिने समीक्षा गोष्ठीको पहिलो दिन आधा दर्जनभन्दा बढी कार्यालयका साथै केही स्थानीय तहले आफ्नो कार्यालयबाट भएको प्रगति विवरण पेश गरेका छन् भने शुक्रवार बाँकी कार्यालय तथा स्थानीय तहले प्रगति विवरण पेश गर्ने जिल्ला समन्वय अधिकारी नरहरि भण्डारीले जानकारी दिए ।




