विराटनगर (अस) । नक्कली औषधिको कारोबार गर्ने गरेको अभियोगमा प्रहरीले विराटनगरबाट एक भारतीयसहित तीनजना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले आइतवार मध्यरात विभिन्न पाँचओटा औषधि पसलमा छापा मारेर दुई सञ्चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले भारत सिलीगुडीमा औषधि व्यापार गर्ने जीवन अग्रवाललाई आइतवार दिउँसो नियन्त्रणमा लिएपछि विराटनगरसहित अन्य क्षेत्रमा नक्कली औषधि कारोबार हुने गरेको खुलेको थियो ।
अग्रवाल पक्राउ परेपछि अनुसन्धान गरेको प्रहरीले उनले नक्कली र नेपालमा स्वीकृत नभएका औषधि आपूर्ति गर्दै आएका फार्मेसीहरूमा छापा मारेको थियो । प्रहरीले न्यूरो अस्पतालभित्र सञ्चालित लाइफ सपोर्ट फार्मेसी, विराट मेडिकल कलेजमा सञ्चालित विराट फार्मेसी, म्याक्स अस्पतालमा सञ्चालित म्याक्स फार्मेसी, गोल्डेन अस्पतालमा सञ्चालित गोल्डेन फार्मेसी र विराट नर्सिङहोममा सञ्चालित फार्मेसीमा समेत छापा मारेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । सो क्रममा म्याक्स इण्टरनेशनल फार्मेसीका सञ्चालक दीपककुमार राय र विराट फार्मेसीका सञ्चालक रोशनकुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ । छापामार गर्दा बरामद भएका औषधिसहित प्रहरीले तीनै जनालाई थप अनुसन्धानका लागि औषधि व्यवस्था विभागमा पठाइने बताएको छ ।











