साउन १६, काठमाडौं (अस) । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्न शुरु गरेको छ । बोर्डले यस वर्षको नीति तथा कार्यक्रममा प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको थियो । सोही अनुरुप बोर्डले पहिलो प्रशिक्षण कार्यक्रम साउन २५ गते सर्वसाधारण लगानीकर्ताहरुका लागि आयोजना गर्ने भएको हो । बोर्डकै कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा ५० जनालाई सहभागी गराउने बताईएको छ ।
यो कार्यक्रम हरेक १५ दिनमा प्रत्येक महीनाको दोस्रो र अन्तिम शुक्रवार निःशुल्क सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ । मुख्यतः नयाँ लगानीकर्ताहरुलाई ध्यानमा राखी काठमाडौं उपत्यकामा धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धि निरन्तर प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको रहेको बोर्डले स्पष्ट पारेको छ ।











