साउन १६, काठमाडौं । राष्ट्रिय सभाको बुधवारको बैठकले प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्यो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । साथै बैठकले स्वर्गीय सांसद जोशीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।
वि.सं. २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काङ्ग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । काङ्ग्रेसको बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहेका जोशीको मङ्गलवार काठमाडौंस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।
राष्ट्रियसभाको अर्काे बैठक बिहीवार दिनको ११ः३० बजे बस्नेछ । रासस










