धरान (अस) । धरानस्थित रङ्गशालाको निर्माणकार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले गुरुयोजना बनाएर पुनर्निर्माण थालेको ८ वर्ष भइसक्दा पनि रङ्गशाला बन्न सकेको थिएन । रङ्गशालालाई गुणस्तरीय बनाउन परिषद् र नगर खेलकुद विकास समितिले बजेट छुट्याएका हुन् ।
रङ्गशाला नबन्दा धरानको महत्त्वपूर्ण खेलकुद गतिविधि एवम् बुढासुब्बा गोल्डकपसमेत लामो समयदेखि यहाँ आयोजना हुन सकेको छैन । गोल्डकपको २०औं संस्करण रङ्गशालामै आयोजना गरे पनि खेलमैदान गुणस्तरीय नहुँदा खेलाडीहरूले समस्या भोग्नुपरेको थियो । धरान–१६ स्थित निर्माणाधीन रङ्गशालालाई गुणस्तरीय बनाउन पटकपटक बजेट विनियोजन गरिएको थियो । अघिल्लो वर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरै खेलहरू सोही रङ्गशालामै सञ्चालन गर्ने परिषद्को योजना थियो, तर समयमै नबन्दा प्रतियोगिताहरू आयोजना गरिएनन् ।
गत आर्थिक वर्षमा परिषद्ले रङ्शाला बनाउन रू. १ करोड ७९ लाख लगानी गरेको थियो । चालू आवमा नगर खेलकुद विकास समितिले ५ लाख रुपैयाँ लगानी गरिसकेको छ । गत आवमा परिषद्ले उत्तर–पश्चिममा २ ओटा प्याराफिट ब्लक, मैदानमा ८ लेनको ट्र्याक छोडेर फेन्सिङ, मैदानमा सरदर ६ इञ्च माटो भरेर लेभलिङको काम गरेको थियो । थप ४० लाख बजेटमा पूर्वतर्फ एउटा प्याराफिटको जग हाल्ने काम पनि गत आवमा सम्पन्न भइसकेको परिषद्का साइट इञ्जिनीयर केवल परियारले बताए ।
‘यो वर्ष पूर्वतर्फको प्याराफिट तयार हुन्छ, अहिलेसम्म रङ्गशालामा ७ हजार हाराहारीमा दर्शक अट्ने प्याराफिट तयार भइसकेको छ,’ उनले भने ।











