सुनसरी (अस) । कृषि वैज्ञानिकहरूको अभावमा कृषि अनुसन्धान केन्द्रहरूमा समस्या देखिन थालेको छ । कृषि क्षेत्रको अनुसन्धानमा खटिने वैज्ञानिकलाई सरकारी निकायले प्राथमिकता नदिँदा कृषि वैज्ञानिकहरू निजी क्षेत्र तथा अन्य मुलुकतर्फ जाने गरेकाले यस्तो समस्या देखिएको हो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा २४ जना कृषि वैज्ञानिकको दरबन्दी रहे पनि सातजना मात्रै कार्यरत छन् । आवश्यकताअनुसार वैज्ञानिक नहुँदा अनुसन्धान कार्यमा समस्या हुँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले नै वैज्ञानिक पठाउन नसकिरहेकाले अन्य केन्द्रमा समेत वैज्ञानिकको अभाव रहेको केन्द्र प्रमुख रामबली साहले बताए ।
सरकारी क्षेत्रभन्दा निजी तथा बाह्य मुलुकमा बढी सेवासुविधाका कारण वैज्ञानिकहरू त्यसतर्फ आकर्षित हुने भएकाले वैज्ञानिक अपुग रहेको प्रमुख साहको भनाइ छ । नयाँ जातको विकास र अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कअन्तर्गतको केन्द्रमा लामो समयदेखि दरबन्दीअनुसार वैज्ञानिकहरू नहुँदा कठिनाइ भए पनि सीमित वैज्ञानिकले समेत अनुसन्धान कार्यमा उल्लेखनीय कार्य गर्दै आएको बताइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले विभिन्न बाली, बागवानी, पशुपक्षी, माछा र घाँसबालीका क्षेत्रमा अनुसन्धान गर्दै आएको छ ।




