काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । जसमा ८ उद्योगका १३ सिमेण्ट, कम्पोजिट सिलिण्डर २, एलपीजी सिलिण्डर ३, एलपीजी भल्व ३, आइरन बार ३ र एलपीजी रेगुलेटर १ उद्योग छन् ।
विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न दिए पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिह्न प्रदान गर्न शुरु गरेको हो । विभागले स्टार सिमेण्ट, जेपी रेवा प्लाण्ट, क्यालकम सिमेण्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्यास ड्रोइड इञ्जिनीयरिङ, सर्वमङ्गल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउछन् । ‘प्रक्रिया पुर्याएर एनएस चिह्न लिने विदेशी कम्पनीलाई हामीले एनएस चिह्न प्रदान गर्दै आएका छौँ,’ उनी भन्छन् । रासस











