
Latest posts by अभियान संवाददाता (see all)
काठमाडौं । थापाथली बस स्टप । समय दिउँसोको १ बजे । लगनखेलबाट रत्नपार्कतर्फ जाँदे गरेको माइक्रोबसमा सहचालक ढोकामा अप्ठ्यारोसँग झुन्डिरहेका थिए । उनी यात्रु ओराल्दै रत्नपार्क ⁄ रत्नपार्क ⁄ भनी कराउँदै थिए । अन्दाजी १३–१४ वर्षकोे देखिने यी सहचालकले मात्र होइन, अन्य धेरै यातायात मजदूरले ज्यान जोखीममा पार्दै दिनभर ढोकामा झुन्डिएर काम गर्नुपर्छ ।
लगनखेलबाट रत्नपार्कतर्फ जाँदै गरेको उक्त माइक्रोबसका सहचालक हुन् लोकबहादुर राना । दाङ घर बताउने रानाले यसरी नै गाडीमा काम गर्र्न थालेको २ वर्ष भयो । आफूलाई १५ वर्ष बताउने राना हेर्दा भने निकै कलिला देखिन्थे ।
‘भाइले खाना खानुभयो त ?’ भन्ने प्रश्नमा उनले भने, ‘बिहान नास्ता खाएर काम थालियो, अब फेरि लगनखेल पुगेपछि केही खानुपर्ला ।’ ‘अनि भोक लाग्दैन त त्यति बेरसम्म ?’ निराश हुँदै उनले भने, ‘लाग्न त लाग्छ नि, तर गाडी चलाउनैपर्यो ।’ निकै बेरपछि उनले कुरा खोलेपछि मात्र थाहा भयो, उनीलगायत धेरै सहचालक बेलुका मात्र खाना खाँदा रहेछन् । किनकि, त्यति बेला उनीहरूलाई गाडी दौडाइहाल्नुपर्ने चटारो हुँदैन ।
नखिपोटबाट रत्नपार्क आइपुगेको अर्को माइक्रोबसमा पनि निकै भीडाभाड थियो । १३ वर्षीय मनोज कार्की यात्रुलाई डाकिरहेका थिए । शुरूमा कुरा गर्न नमानेका उनले चालकले केही बेर रोक्ने भनेपछि कुराकानी गर्न माने । कति वर्षको हुनुभयो भन्ने प्रश्नमा उनले ‘मसँग एसएलसीको कार्ड छ’ भने । मैले उमेर सोधेको हो, पढाइ होइन भनेपछि कार्कीले भने, ‘कहिले पुलिस त, कहिले को–को मान्छे आएर दुःख दिन्छन् भनेर एसएलसीको कार्ड छ भनेको ।’ शायद उनलाई शिक्षा प्रणालीबाट एसएलसी हटेको थाहा थिएन । अधिकारकर्मी र प्रहरीहरूले बेलाबेला दिने झन्झटबाट मुक्त हुन उनले आफूलाई एसएलसी पढ्ने बताउँदा रहेछन् ।
गाडी केही बेर रोकिएपछि उनलाई फेरि अर्को प्रश्न गरियो । ‘अनि भाइ त निकै सानो देखिनुहुन्छ नि, कसरी एसएलसी पढ्नुभयो ? बल्ल उनले कुरा खोल्दै भने, ‘यसै भन्देको पो त ! १३ वर्ष भएँ, खासमा हाइट मात्र बढेको हो ।’ यी प्रतिनिधि पात्रलगायत सयौं बालक राजधानीमा गुड्ने सार्वजनिक यातायातमा सहचालकका रूपमा कार्यरत छन् । अलि युवा देखिनेहरू पनि वर्षौं अघिदेखि यही पेशामा रहेर आएका हुन्छन् ।
जमलमा ट्याक्सी ड्राइभरको काम गर्ने रुकुमका शेरबहादुर थापा भूतपूर्व सैन्य जवान हुन् । उनले बसपार्क क्षेत्रमा यसरी सहचालकको काम गर्ने बालबालिका तथा युवाहरू धेरैको दुःख देखेका छन् । ‘सहचालकले बिरामी भएका बेला पनि काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘किनभने बिरामी भयो भन्दैमा क्यू रोकिँदैन ।’ उनकै अनुभवमा भन्ने हो भने उपत्यकामा मिनीबसमा धेरै बालक सहचालक छन् । माइक्रो र ठूला क्षमताका सार्वजनिक बसमा भने वयष्कहरू नै सहचालकका रूपमा काम गर्छन् ।
अन्य सहचाकसँग पनि पारिश्रमिक, बिदा, उमेरलगायत प्रश्न सोध्दा अधिकांशले ढाँटेर जवाफ दिएको पाइयो । किशोरावस्थामा पनि नपुगेका यी बालकमध्ये कतिले त खानाबाहेक अर्को आशा नगर्ने रहेछन् । सवारीधनीले पारिश्रमिक दिइहाले पनि ३ हजार, ४ हजार रुपैयाँभन्दा धेरै पाउँदैनन् । ‘यति पैसा पनि समयमा पाए त हुने नि,’ गोङ्गबु जाने बसमा काम गर्ने राम नेपालीले आफ्नो समस्या फुकाए, ‘साहूले भोलिभोलि भनेर महीनौं बिताइदिन्छ ।’ १० वर्षको उमेरदेखि यही काम गर्दै आएका उनी अहिले १६ वर्षका भए । सानो उमेरमा गाडीमा धेरै दुःख पाएको स्मरण गर्दै उनले भने, ‘अब नागरिकता बनाउन घर दोलखा जान्छु अनि गाडी सिक्न सजिलो हुन्छ ।’
बालश्रम नियमन र निषेध गर्ने कानूनले १४ वर्षमुनिका बालबालिकालाई कुर्नै पनि श्रममा लगाउन निषेध गरेको छ । साथै, यातायात मजदूर व्यवस्थाअन्तर्गत पनि कम उमेरका बालबालिकालाई श्रममा लगाउन नपाइने नियम जारी छ । तर पनि राजधानीमा सयौं बालक र किशोरहरू यही काममा लाग्न बाध्य छन् ।
केन्द्रीय बालकल्याण समितिका सूचना अधिकारी रामबहादुर चन्दका अनुसार बालबालिकालाई लगाइने श्रमको नियमन गर्ने निकाय श्रम कार्यालय हो । ‘हामीले समयसमयमा बालबालिका खोजतलास केन्द्र, श्रम कार्यालयसँग सहकार्य गरी बाल श्रमिकहरूको उद्धार गरेका छौं,’ चन्दले भने । गत वैशाख ५ देखि ९ गतेसम्म यी तीनओटा कार्यालयले सहकार्य गरी लगनखेल तथा उपत्यकाका बसपार्कबाट यातायात श्रम गर्ने बालकको उद्धारका लागि बृहत् अभियान सञ्चालन गरेको थियो । यस कार्यलाई सम्बन्धित निकायसँग सहकार्य गरी निरन्तरता दिइने बालबालिका खोजतलास केन्द्र, काठमाडौंका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।