सङ्घीयता कार्यान्वयन गर्न थप आर्थिक स्रोतको आवश्यकता : अर्थमन्त्री

साउन २४, काठमाडौं (अस) । सङ्घीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि विश्व बैङ्कलगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । विकास र समृद्धिका लागि नेपालमा अहिले उत्साहजनक वातावरण रहेको भन्दै मन्त्री खतिवडाले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संस्थाहरू, गैर सरकारी सङ्घसंस्था तथा विकास साझेदारहरु मिलेर अगाडि बढ्ने बताए । विश्व बैङ्कको मुख्यालयमा नेपालका विकास आवश्यकता सम्बोधन गर्न विश्व बैङ्क र नेपाली राजदूतावासद्धारा आयोजित नेपाल दिवस कार्यक्रममा उनलेसमृद्ध नेपालको खाका प्रस्तुत गरेका थिए । सङ्घीयताको कार्यान्वयन गर्न थप स्रोतको आवश्यकता रहेको र प्रदेश, स्थानीय तहमा संविधान प्रदत्त अधिकार उपयोग गर्ने गरी सक्षम वनाउन क्षमता अभिवृद्घि आवश्यक रहेको मन्त्री खतिवडाको धारणा छ । नेपालको समिष्टगत आर्थिक सूचकांकहरू अनुकुल रहेको, लगानीको वातावरणमा सुधार भएको, करका प्रावधानहरू प्रतिस्पर्धी रहेको, युवाहरूको जनसङ्ख्याको बाहुल्यता रहेको, थप पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेकोले निजी क्षेत्रले लगानी गर्न पनि अहिले उपयुक्त वातावरण वनेको उनको दावी थियो । व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिंदै निर्यात प्रबद्र्धन गर्नुपर्ने चुनौती रहेको उनले बताएका थिए । कार्यक्रममा विश्व बैङ्कका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले राखेको जिज्ञासाको अर्थमन्त्री खतिवडाले उत्तर दिएका थिए । कार्यक्रममा विश्व बैङ्क, अन्तरराष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी प्रत्याभूती संस्थाका उपाध्यक्षहरू, विश्व बैङ्कका नेपाल हेर्ने कार्यकारी निर्देशकलगायत नेपालका अन्य विकास साझेदारहरूको उपस्थिती थियो ।