कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी थापालाई, जङ्गी अड्डाबाट क्षेत्रीको बिदाई

साउन २४, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महीनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रवारदेखि बिदामा बस्दैछन् । नेपाली सेनामा सहायक सेनानी दर्जामा प्रवेश गरेर करीब ४० वर्ष सेनामा सेवा गरेका प्रधानसेनापति क्षत्रीले आगामी भदौ २४ गतेदेखि पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्ने नेपाली सेनाले बताएको छ । सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन् । बलाधिकृत रथी थापालाई यही साउन १० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम शुक्रवारदेखि लागू हुने गरी प्रधानसेनापतिमा कामु मुकर्रर गरिएको थियो । बुझबुझारथपछि कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्ने प्रयासस्वरुप कागजको कम प्रयोग गर्ने वातावरणका लागि डिजिटलाइजेशनमार्फत कार्यालयमा कामको शुरुआत गरेका छन् । उनले काठमाडौँ—तराई÷मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई बिहीवारकै मितिदेखि हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ ।