
Latest posts by मदन लम्साल (see all)
अघिल्लो साता नेपाल–भारत थिङ्क ट्याङ्क समिट सम्पन्न भयो । थिङ्क ट्याङ्क मतलव विचारै–विचारले भरिएको ट्याङ्की । अर्को शब्दमा यसलाई बुद्धिजीवी पनि भनिन्छ । बुद्धिजीवी भनेको बुद्धि बेचेर जीविका गर्ने व्यक्ति हो भनेर पनि बुझ्न सकिन्छ । खुशीको कुरा त यो छ कि, समिटले अबदेखि देशमा बुद्धिजीवीहरूको भूमिका जोडदार रूपमा बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । अब भने देशले ठूलै प्रगति गर्ने भो भन्ने कुरामा कुनै द्विविधा रहेन ।
त्यसो त नेउवा महासङ्घ, सीएनआई जस्ता व्यावसायिक संस्थाहरूले पनि थिङ्क ट्याङ्क राखेका छन् । त्यै भएर त देशमा यति धेरै उद्योगधन्दा चलेका, आर्थिक विकास फलेका !
अब प्रधानमन्त्री कार्यालयमा पनि विभिन्न विषयका थिङ्क ट्याङ्क राख्ने कुरा भइरा रै’छ क्यारे । विगतमा देश सोचेजति उँभो लाग्न नसकेको त्यै थिङ्क ट्याङ्क नभएरै हो । जे होस्, देशले छलाङ मार्ने सङ्केत अब चैं ल्याइसक्या छ । अहिलेसम्म त प्रधानमन्त्री स्वयम् एक्लैले सबै थोक सोच्नुपर्ने, काम पनि आफैले गर्नुपर्ने र खाल्डाखुल्टी पुर्नेदेखि विद्यार्थी भर्ना पनि आफै गर्न जानेसम्म गर्नुपर्ने भएकाले मात्र देश अलि पछिपरेको थियो ।
नेपालमा वास्तविक थिङ्क ट्याङ्क उही हो, जो नेताको दैलो चहार्ने धैर्य राख्छ, परिआए भाग्छ र सरकारी तालमा समृद्धिको राग अलाप्छ । हुन पनि विनाधैर्य थिङ्किङ हुँदैन । र, विनाथिङ्किङ थिङ्क ट्याङ्क पनि बनिन्न ।
अर्को खुशीको कुरा यो छ कि, पहिले पहिले नेपाली थिङ्क ट्याङ्कहरूबीच मात्रै छलफल हुन्थ्यो । त्यसैले, देशले सोचेजति प्रगति गर्न सकेको थिएन । तर, केही समययता दुई देशका थिङ्क ट्याङ्कहरूबीच समेत छलफल हुन थालेछ । अब ठूलै क्यै नभई छाड्दैन कि जस्तो पो छ ! वास्तवमा बुद्धिजीवीहरू नभएको भए यो देश उहिल्यै कहाँ पुगिसक्थ्यो होला, धन्न बुद्धिजीवीहरूले बचाएर पो जोगिएको यो देश ।
नेपालमा बुद्धिजीवी अर्थात् थिङ्क ट्याङ्कहरू को को छन् भनेर नसोध्नुहोला । त्यसमा स्वघोषित बुद्धिजीवी थुप्रै छन् । जस्तै– अलि पढेलेखेका, केही देश–विदेश घुमेका, केही सुविधा भोगेका जो कोही पनि हुन सक्छन् । ती हरेक मन्त्रालयमा, हरेक मन्त्रीका पीए हुन सक्छन, सीए हुन सक्छन्, डीए अर्थात् डोनर एजेन्सी हुन सक्छन् । ती पत्रकार हुन सक्छन्, कसैका सल्लाहकार हुन सक्छन्, वा जो पनि हुन सक्छन् । यिनीहरु कसरी थिङ्क ट्याङ्क भए भन्नुहोला । यिनीहरू यस कारण थिङ्क ट्याङ्क भए कि, यिनीहरू यदाकदा थिङ्क पनि गर्छन्, ड्रिङ्क पनि गर्छन् । प्रायः यिनीहरूसँग एउटा एउटा ट्याङ्की पनि हुन्छ, जसमा विचार र दारु सँगसँगै एकैचोटि अटाउन सकिन्छ । हाम्रो सन्दर्भमा थिङ्क ट्याङ्कहरूलाई भजन मण्डली पनि भन्न सकिन्छ । नेपालमा वास्तविक थिङ्क ट्याङ्क उही हो, जो नेताको दैलो चहार्ने धैर्य राख्छ, परिआए भाग्छ र सरकारी तालमा समृद्धिको राग अलाप्छ । हुन पनि विनाधैर्य थिङ्किङ हुँदैन । र, विनाथिङ्किङ थिङ्क ट्याङ्क पनि बनिन्न । विनाथिङ्क ट्याङ्क देश पनि बन्दैन ।
यी थिङ्क ट्याङ्कहरू नभएका भए देशको के हुन्थ्यो होला । कठै ! मेरो देश ! भन्नुपर्थ्यो होला
तपाईं सोध्नुहोला फेरि, लौन यी थिङ्क ट्याङ्क कस्ता हुन्छन् भनेर । थिङ्क ट्याङ्क साना टाउका, तर ठूलो इगो र ठूलै भुँडी भएका व्यक्तित्वहरू हुन्, जसले सोच्न सक्छ । उसले आफूले काम भने गर्नुपर्दैन, सोचिदिए मात्र पुग्छ । त्यसैले, प्रायः थिङ्क ट्याङ्कहरू सौच्नैका लागि घण्टौं हातमा गिलास समातेर घोत्लिरहेका हुन्छन् । त्यसैले पनि धेरैले थिङ्क ट्याङ्कहरूलाई ड्रिङ्क ट्याङ्क भनेर पनि बुझ्छन् । जे भने पनि कुरो एउटै हो । किनकि, दुवै अवस्थामा थिङ्क ट्याङ्कले गर्ने भनेको पेशेवरले जसरी सोच्ने काम नै हो ।
थिङ्क ट्याङ्क बन्न चाहिने कुनै खास शिक्षा त तोकिएको छैन । तर, नेपालमा चलेको चलन हेर्ने हो भने नामअगाडि प्रा वा डा वा प्राडा झुन्ड्याइएकै हुनुपर्छ । नत्र थिङ्क ट्याङ्कको पदवी पाइँदैन ।
तपाईंलाई अझै नेपाली थिङ्क ट्याङ्कहरू को को रैछन् भनेर चिन्न मन लाइरा’को होला । स्मरण रहोस्, यो लेख पढ्ने तपाईं सबैजना थिङ्क ट्याङ्क वा बुद्धिजीवी वर्गमै पर्नुहुन्छ क्या !
अर्को कुरा, पद नपाई नेपालमा कोही थिङ्क चैं गर्दैन । त्यसैले, आफै पद नपाए अरूलाई सल्लाह दिने कुरा पनि भएन । फेरि पद पाएपछि ऊसँग थिङ्क गरिरहने फुर्सद पनि हुँदैन । त्यै भएर पनि समस्या भैराछ देशमा । नत्र थिङ्क ट्याङ्कहरूको त कुनै समस्या नै थिएन । तर, अब पालो थिङ्क ट्याङ्कहरूको आएको छ । हेर्दै जानुहोला यिनीहरूले चैं अब देशलाई माथि माथि उचाल्नेछन् है !
One Comment
Aam nepali
I don’t see point in making fun of think tanks when in reality this country has been the victim of political mismanagement for the last several decades. There has never been any real think tank in the country, apart from those with political expertise which is not what country needs right now. The oversized bureaucracy is supposed to do thinking at the highest level and if they were capable of doing so then we wouldn’t be needing think tanks in the first place. Unfortunately talented and smart people don’t make it to the top of the bureaucracy, they are forced to leave the country. Nepal is the only country in the world which discards the cream of its talent pool. We need think tank of massive scale with expertise in almost all sectors except politics.