रोशनी भट्टराई
साउन २६, विराटनगर । वैशाख १ गतेदेखि विराटनगरमा सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले ग्राहकहरुका लागि मनसुन अफर ल्याएको छ । उक्त अफरमा दैनिक प्रयोग हुने खाद्यान्नका सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ ।
विराटनगरको भाटभटेनीले जोगबनी र विराटनगरमा चलिरहेको बजार भाउभन्दा कम मूल्यमा खाद्यान्न सामग्री विक्री वितरण गरेपछि बजारका अन्य पसलमा ग्राहक जान छाडेका छन् ।
मनसुन अफर अन्तर्गत चिनी प्रतिकेजी ५९ रुपैयाँमै विक्री भैरहेको छ । हाल विराटनगरको बजारमा चिनी ७० देखि ८० रुपैयाँसम्ममा विक्री हुँदै आएको छ । सीमा पारी जोगवनीमा पनि चिनीको मूल्य ६० देखि ६५ रुपैयाँसम्म पर्छ ।
आम उपभोक्तालाई सहज होस भनेर जोगबनीको दरभन्दा कम मूल्यमा सामग्री बेचेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताए । सबैभन्दा बढी ग्रोसरी (खाद्यान्न)का सामग्रीमा आम उपभोक्तालाई सहुलियत दिइएको व्यवस्थापक भट्टराईले बताए ।
अफर अन्तर्गत इलेक्ट्रिक सामानमा २० र अन्य सामग्रीमा १० प्रतिशत छुट कायम राखिएको छ । सुपर स्टोरले ३ महीनाको अवधिमा ६० करोडको कारोबार गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।




