साउन २६, काठमाडौं (अस) । देवः विकास बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बज्र गुरुङ नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले गुरुङलाई अध्यक्ष पदका लागि सर्वसम्मतिबाट चयन गरिएको बैङ्कले जानकारी दिएको छ ।
यसअघि सोही बैठकले प्रा.डा. सुवर्णलाल बज्राचार्यले सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा र महेश प्रधानले सञ्चालक समितिको सदस्यबाट दिएको राजीनामा स्वीकृत गरिएको थियो । नेपाली सेनाबाट अवकाशप्राप्त उपरथी बज्र गुरुङ्ग भाटभटेनी सुपर मार्केटस् एण्ड डिपार्टमेण्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गर्दै २०६५ चैत २७ गतेदेखि बैङ्कको सञ्चालक समितिको सदस्य रहिआएका छन् ।
नवनियुक्त अध्यक्ष गुरुङलाई शुक्रवार नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पद तथा गोपनियताको सपथ ग्रहण गराए । राष्ट्र बैङ्कमा आयोजित सपथ ग्रहण कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, विभागका उप–निर्देशक निर्मल कुमार कार्की तथा देवः विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।




