साउन २६, क्यालिफोनिर्या (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इङ्क र यसका प्रमुख कार्यकारी अधिकृत एलन मस्कमाथि मुद्दा दायर भएको छ । लगानीकर्ताहरु कलमन आइज्याक्स र विलिमय च्याम्बरलेनले शुक्रवार कम्पनी र मस्कमाथि सन फ्रान्सिस्कोको सङ्घीय अदालतमा २ ओटा सामूहिक मुद्दा हालेका हुन् । मुद्दामा ‘शर्ट सेलर’हरुलाई खुम्च्याउन षडयन्त्र गरेको आरोप लगाइएको छ ।
मस्कले अगष्ट ७ मा ट्विटमार्फत कम्पनीको सबै शेयर किन्ने घोषणा गरेका थिए । शर्ट सेलरलाई पाखा लगाउने नियतले मस्कले त्यस्तो प्रस्ताव ल्याएको आरोप लगाइएको छ । ट्विटरमा मस्कले चाहिने रकमको जोहो भएको भन्दै कम्पनीको बाँकी शेयर प्रतिकित्ता ४ सय २० डलरमा किन्ने प्रस्ताव गरेका थिए । सो घोषणा भएको तीन दिन पछि ती मुद्दा दायर भएका हुन् ।
मुद्दाका वादीहरु आइज्याक्स र च्याम्बरलेनले मस्कको ट्विट नै गलत र भ्रामक भएको बताएका छन् । टेस्लाले मस्कको गल्ती नसच्याएर सर्ट सेलरहरुलाई पूर्णतः बर्बाद गर्न खोजेको आरोप समेत मुद्दामा लगाइएको छ । उनीहरुले कृत्रिम रुपमा टेस्लाको शेयर मूल्य बढाएको र सङ्घीय सेक्युरिटिज कानूनको समेत उल्लङ्घन गरेको आरोप समेत लगाइएको छ । यद्यपि, यस विषयमा टेस्लाले भने कुनै प्रतिक्रिया दिएको छैन ।
मस्कको उक्त प्रस्तावयता कम्पनीको शेयर मूल्यमा उतारचढाव आइरहेको छ । मङ्गलवार १३ प्रतिशतले बढेको शेयर बुधवार र बिहीवार भने आरोलो लाग्यो । शुक्रवार बजार बन्द हुँदा टेस्लाको शेयर ३ डलर शून्य ४ सेण्टले बढेर प्रतिकित्ता ३ सय ५५ डलर ४९ सेण्ट कायम भएको थियो । मस्कले अहिलेसम्म कम्पनीलाई निजी बनाउन आवश्यक रकम छ भन्ने प्रमाण भने दिएका छैनन् । सञ्चार माध्यमहरुले पनि मस्कसँग आवश्यक रकम नभएको र उनी रकम जुटाउन व्यस्त रहेको बताएका थिए । एजेन्सीहरु
शर्ट सेल भनेको के हो ?
आफूसँग नभए पनि ब्रोकर/डिलरलाई प्रिमियम तिरेर शेयर सापट लिने अनि सोको मूल्य घट्न थालेपछि विक्री गर्ने प्रवृत्तिलाई नै शर्ट सेल भनिन्छ । यस्तो गतिविधिमा संलग्न व्यापारीलाई भने शर्ट सेलर भनिन्छ । साधारण भाषामा यिनीहरुलाई सट्टेबाज पनि भनिन्छ । यिनीहरुले शेयरको मूल्य अब घट्छ भन्ने भएपछि बेचिदिन्छन र मूल्यमा निकै कमी आएपछि पुनः त्यसलाई किन्छन् र नाफा कमाउँछन् । विशेषगरी अनुभवी कारोबारीहरुले मात्रै यस्तो गर्छन् । यिनीहरु शर्ट सेलिङ गर्दा हुन सक्ने जोखिमबारे परिचित हुन्छन् ।




