बिम्स्टेकमा बसेर नेपाललाई के फाईदा ? व्यापार, पर्यटन, आर्थिक क्षेत्र विस्तारका विषयमा पहल गर्न आग्रह
साउन २६, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । राजधानीमा शनिवार नेपालमा आयोजना हुन लागेको विम्स्टेकको बारेमा गरिएको छलफलमा सहभागिले यसको महत्वको बारेमा जानकारी गराएका थिए । दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् । पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई ओटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्ने बताइएको छ । पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताए । नेपालको ९७ प्रतिशत व्यापार भारतसँग हुँदै आएको र अन्य मुलुकसँगको व्यापार नगन्य देखिएको उनको भनाइ थियो । पूर्वराजदूत प्रद्युम्न शाहले थाइल्याण्डको पहलमा बिम्स्टेकको जन्म भए पनि थाइल्याण्डको झुकाव आसियानसँग भएकाले बिम्स्टेकले प्रगति नभएको बताए । बिम्स्टेक बडापत्र बनाउने, बैङ्क स्थापना गर्नेजस्ता दूरदृष्टिसहितको तस्तावेज तयार गर्ने छलफल हुनुपर्ने औँल्याए । आगामी भदौ १४ र १५ गते राजधानीमा बिम्स्टेकको चौथो शिखर सम्मेलन हुँदैछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed