तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले असारमा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ । अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।
‘पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौं,’ उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताए ।
उनले छिटो गरिएका विकास तथा निर्माणका काम दिगो र प्रभावकारी नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४०औं कार्यपालिका बैठकबाट प्राथमिकताका आधारमा योजनाको वर्गीकरण गरेर काम गर्ने योजना अगाडि सारेको बताए । रासस