साउन २८, लन्डन (बेलायत) । बेलायतमा कर्मचारी अभाव उत्कर्षमा पुगेको छ । यूरोपेली सङ्घ (ईयू)बाट आउने आप्रवासीको सङ्ख्या घटेपछि कम्पनीहरुलाई भने जस्तो कर्मचारी भर्ती गर्न कठिन भइरहेको छ । विगत १२ महीना यता रिक्त रहेको पदमा नयाँ कर्मचारी पाउन नै मुश्किल छ । करीब ४० प्रतिशत रोजगारदाताहरुले यस्तो समस्या भोगिरहेको ‘चार्टर्ड इन्ष्टिच्यूट अफ पर्शनल एण्ड डेभलपमेन्ट’ (सीआईपीडी)ले गरेको सर्वेक्षणले देखाएको छ ।
यद्यपि, यसको एउटा फाइदा पनि देखिएको छ । श्रम बजारमा भनेजस्तो कर्मचारी नपाएपछि केही क्षेत्रमा तलब भने बढिरहेको छ । यो स्थिति अहिले एक्कासी देखिएको होइन । जनमत सङ्ग्रहमा बेलायतहरुले ईयूको सदस्यता त्याग्ने पक्षमा मतदान गरेयता नै स्वास्थ्य आतिथ्यलगायत क्षेत्रमा कर्मचारीको अभाव बढ्दै गएको थियो । सन् २०१७ को पहिलो त्रैमासदेखि सन् २०१८ सम्मको पहिलो त्रैमासको बीचमा बेलायतमा ईयू क्षेत्रबाट आउने कर्मचारीको सङ्ख्या ७ हजारले मात्रै बढेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दैै सीआईपीडीले बताएको छ ।
सन् २०१६ देखि सन् २०१७ को सोही अवधिमा भने बेलायत आउने यूरोपेलीको सङ्ख्या १ लाख ४८ हजारले बढेको थियो । आउने मानिसको सङ्ख्या धेरै नबढ्नु त स्वभाविक नै हो । तर भइरहेकाहरु पनि धमाधम निस्कन थालेपछि थप समस्या भएको छ । यसले ‘आपूर्ति झट्का’ पैदा गरेको छ । यस प्रवृत्तिका कारण गैर-बेलायतीहरुमाथि भर परिरहेको सूचना प्रविधि, यातायात, भण्डारण र निर्माण लगायत क्षेत्र नराम्ररी प्रभावित बनेको छ ।
उच्च सिप भएको काममा मात्रै होइन अदक्ष कर्मचारी आवश्यक पर्ने काममा पनि आवेदन घटेको छ । गत वर्षको गर्मीयाममा न्यून सिप भएको कामका लागि औसतमा २४ जनाले आवेदन दिने गरेकोमा यो घटेर अहिले २० मा आएको छ । गत वर्षको गर्मीयाममा दक्ष सिपयुक्त कामका लागि औसतमा ८ आवेदन आउने गरेकोमा अहिले यो घटेर ६ मा समेटिएको छ । श्रमिक अभावका कारण केही कम्पनीले शुरुआती तलब नै धेरै दिएर कर्मचारी राख्न थालेका छन् । अहिले बेलायतमा रोजगारी कीर्तिमानी स्तरमा रहेकोले तलब धेरै नबढ्ने विश्लेषण गरिएको छ । एजेन्सी




