बैतडीको पाटनलाई नमूना शहर बनाउने कार्य सुस्त

बैतडी । बैतडीको पाटनलाई नमूना शहर बनाउने कार्यले गति लिन सकेको छैन । ७ वर्षअघि सरकारले उक्त स्थानलाई नमूना शहरको रूपमा विकास गर्ने घोषणा गर्दा निकै खुशी भएका पाटनवासी काम अघि नबढ्दा निराश भएका छन् । सरकारले आर्थिक वर्ष २०६७/६८ मा मध्यपहाडी लोकमार्गअन्तर्गत १० शहरलाई नमूनाका रूपमा विकास गर्ने निर्णय गरेको थियो । तीमध्ये प्रस्तावित नमूना शहरको सूची बैतडीको पाटन पनि परेको थियो । नमूना शहर बनाउने घोषणा भएको ७ वर्ष बितिसक्दा समेत विकास निर्माणका कामले गति लिन नसकेको स्थानीय दिनेश विष्टले बताए । नमूना शहरको रूपमा विकसित गर्नकै लागि हालसम्म रू. ११ करोड खर्च भइसकेको छ । सरकारले शुरूका २ वर्षमा न्यून बजेट विनियोजन गर्दा अझै पनि आयोजनाको कामले सोचेअनुसार अघि बढ्न नसकेको हो । नमूना शहरका रूपमा विकसित गर्ने सरकारी घोषणा भए पनि नयाँ शहरको काम सोचेअनुसार अघि नै नबढेको पाटनका कपिल केसीले बताए । ‘पाटन नमूना शहर बन्छ भन्दा धेरै खुशी लागेको थियो,’ उनले भने, ‘तर, हालसम्म पनि निर्माणले गति लिन नसक्दा निराश बनाएको छ ।’ नयाँ शहर बनाउने घोषणा भएको दुई वर्षसम्म निकै थोरै बजेट आएको नयाँ शहर आयोजनाले बताएको छ । ‘बजेट आएपछि पनि धेरै काम हुन सकेको छैन,’ आयोजनाका प्रमुख प्रवीण शाहले भने, ‘गत आवमा जस्तो यस वर्ष भने प्रगति हुन सकेन ।’ गतवर्ष गर्नुपर्ने ११ काममध्ये आठ काम सम्पन्न भएका थिए । ‘साथै, ९० प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजनाका प्रमुख शाहले भने, ‘खर्च प्रगति ९७ प्रतिशत भएकोे छ ।’ पाटनमा जग्गा खण्डीकरणमा समेत समस्या आएको छ । रासस