साउन ३०, लण्डन (बेलायत) । बेलायतमा हाकिमहरुको तलब दोहोरो अङ्कले बढेको छ । बुधवार ‘चार्टर्ड इन्ष्टिच्यूट अफ पर्सनल एण्ड डेभलपमेण्ट’ (सीआईपीडी) र ‘हाई पे सेण्टर’ (एचपीसी)ले संयुक्त रुपमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार गत वर्ष फुट्सी १ सयमा सूचिकृत कम्पनीका सीईओको औसत तलब ११ प्रतिशतले बढेर करीब ४० लाख पाउण्ड स्टर्लिङमा पुगेको छ । सो अवधिमा फूल टाइम कर्मचारीहरुको तलब भने २ प्रतिशतले मात्रै बढेको थियो ।
हालैका वर्षमा कम्पनीका सीईओहरुलाई दिइने उच्च तलबबारे शेयरधनीहरुले आलोचना गर्ने क्रम बढेको छ । बीटी, रोयल मेल र डब्ल्यूपीपीलगायत कम्पनीको वार्षिक साधारण सभामा शेयरधनीहरुले यस प्रवृत्तिको विरोध गर्दा निकै बहस पनि भएको थियो । प्रतिवेदनअनुसार गत वर्ष फूल–टाइम कर्मचारीहरुको औसत तलब २३ हजार ४ सय ७४ पाउण्ड स्टर्लिङ थियो । यसको अर्थ फुट्सी १ सयमा रहेको कम्पनीका सीईओले एक वर्षमा कमाउने तलब कमाउन आम कर्मचारीहरुलाई १ सय ६७ वर्ष लाग्छ ।
‘सीईओहरुले खुसीसाथ पहिलाकोभन्दा धेरै धेरै तलब थापिरहँदा औसत कर्मचारीको तलब भने खुम्चिरहेको छ,’ प्रतिपक्षी लेबर दलका कानून निर्माता रशेल रिभ्सले भनिन् । पछिल्लो समय कार्यकारीहरुको उच्च तलबप्रति शेयरधनीहरुले गरेको विद्रोहले अनुचित तलब सुविधाप्रतिको कुण्ठा उजागर गरेको रिभ्सले बताइन् । व्यवसाय तथा कम्पनीहरुले कार्यकारी तलब नियन्त्रण गर्न उपयुक्त कदम चालेनन् भने सरकारले नै आवश्यक उपाय अपनाउने उनको भनाई छ ।
कम्पनीमा व्याप्त आय असन्तुलन विरुद्ध लड्न बेलायत सरकारले त्यहाँका सूचिकृत कम्पनीका लागि सन् २०२० देखि कार्यकारी अधिकृत र आम कर्मचारीबीचको तलब अन्तरको औचित्य पुष्टि गर्नु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । शेयर मूल्यमा आउने उतारचढावले भविष्यमा कार्यकारीको तलब सुविधालाई कसरी प्रभावित पार्छ भन्ने देखाउन समेत कम्पनीमाथि दबाब दिने गरी यो व्यवस्था तयार पारिएको छ । सरकारले तलब अन्तर कम गर्न अथक प्रयास गरिरहेको छ ।
यद्यपि, विगत १२ महीनामा ठूला कम्पनीमा हाकिम र कामदारबीचको तलब अन्तर थप फराकिलो भएको छ । सन् २०१७ मा सबैभन्दा उच्च तलब सुविधा पाउनेमा घर बनाउने कम्पनी पेर्सिमोनका सीईओ जेफ फेयरबर्न थिए । उनले सन् २०१७ मा ४ करोड ७० लाख पाउण्ड स्टर्लिङभन्दा बढी तलब सुविधा थापेका थिए । यो उनको २०१६ को तलब सुविधाभन्दा २२ गुणा धेरै हो । फुट्सी १ सय मा ७ प्रतिशत मात्रै महिला सीईओ छन् । गत वर्ष फुट्सी १ सयका हाकिमहरुले पाएको कुल तलबको साढे ३ प्रतिशत मात्रै महिला सीईओले पाएका थिए । एजेन्सी




