साउन ३०, काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका डेबिट कार्डहोल्डरलाई नर्भिक इन्टरनेशनल हस्पिटलमा हुने उपचार र सेवामा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ । बुधवार बैङ्क र हस्पिटलका प्रतिनिधिबीच भएको सम्झौताले बैङ्कका डेबिट काडहोल्डर र तिनका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सीटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डीक नन इन्भेसिभ परीक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिकका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
बाराको गंजभवानीपुरमा २०६ औं शाखा

बैङ्कले बाराको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा आफ्नो २ सय ६ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ । बैङ्क सञ्चालक समितिका सदस्य जनककुमार बरालले उक्त शाखाको उद्घाटन गरेका हुन् । राष्ट्रिय वाणिज्य बैङ्क सरकारी बैङ्क भएकाले यसको मालिक पनि जनता र संरक्षक पनि जनता नै भएको बरालले बताए । शाखा शुभारम्भका अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैङ्कको हाल ७४ जिल्लामा २ सय ६ ओटा शाखा कार्यालय, १ सय ३५ एटिएम र ९३ शाखा रहित बैङ्किङ सेवा सञ्चालनमा रहेको छ ।



