निर्भीक रायमाझी
काठमाडौं । नेपालमा २०१६ सालमा विश्वविद्यालय स्थापना भएसँगै उच्च तहको शिक्षा शुरू भयो । त्यस बेला स्नातक तहमा मानविकी, विज्ञान र व्यवस्थापनजस्ता विषयले प्राथमिकता पाए । तत्कालीन समाजको माग र बजारको आवश्यकता हेर्ने हो भने ती विषय समयसान्दर्भिक पनि थिए ।
आज समय बदलिएको छ । कुनै पनि काममा विषयविज्ञताको खाँचो हुने गरेको छ । डाक्टर, इञ्जिनीयर र विज्ञान पढेका विद्यार्थीले मात्र बजारको माग धान्न गाह्रो छ । सामाजिक विषयवस्तु र दैनिक जनजीवनका विविध आयाम समेटिने विषय अहिले विश्वविद्यालयमा पढाइ हुन थालेको छ । यी विषय पढेका जनशक्तिको माग नेपाली बजारमा सीमित रहे तापनि निकट भविष्यमा यो अपरिहार्य बन्ने देखिन्छ । यसै सन्दर्भमा स्नातक तहमा पढाइ हुने नयाँ र बहुआयामिक केही विषयबारे यहाँ चर्चा गरिएको छ :
ब्याचलर इन पब्लिक एड्मिनिष्ट्रेशन (बीपीए)
प्रशासनिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागले तयार पारेको चारवर्षे कोर्स हो पब्लिक एड्मिनिष्ट्रेशन । सेमेष्टर प्रणालीमा रहेको यो विषय व्यवस्थापन समूहमा पर्छ । हाल जनप्रशासन क्याम्पस काठमाडौं, मोरङ र पोखरामा पढाइ हुँदै आएको पब्लिक एड्मिनिष्ट्रेशन लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्नेहरूका लागि उपयुक्त मानिन्छ ।
ब्याचलर अफ फेशन डिजाइनिङ (बीएफडी)
फेशन डिजाइनिङ पूर्वाञ्चल विश्वविद्यालयमा पढाइ हुने तीनवर्षे कोर्स हो । सेमेष्टर प्रणालीमा पढाइ हुने यस विषयकोे माग बजारमा बढ्दो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा मात्र नभई चलचित्र बजार तथा राष्ट्रिय जनजीवनका कार्यमा पोशाक छान्न, डिजाइन गर्नसमेत यस विषय पढेकाको माग हुने गरेको छ । सन् २००२ मा स्थापना भएको नमूना कलेज अफ फेशन टेक्नोलोजी फेशन पढाइ हुने नेपालकै पहिलो कलेज हो । अहिले यो विषय पढाइ हुने नयाँ कलेज खुल्ने क्रममा छन् ।
ब्याचलर अफ लिबरल आर्ट्स एण्ड साइन्सेज (बीएलएएस)
समाजशास्त्र, अर्थशास्त्र, इतिहास, कला, साहित्य र जीवनशैलीको समग्र ज्ञान दिने उद्देश्यले तयार पारिएको यो कोर्स पूर्वाञ्चल विश्वविद्यालयमा पढाइ हुँदै आएको छ । सेमेष्टर प्रणालीको चारवर्षे यो कोर्स पढेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थामा रोजगारी पाउन सकिन्छ । यससँगै नेतृत्वदायी भूमिका हुने पद तथा समाज विज्ञानका क्षेत्रमा पनि यसको माग छ । ह्वाइट हाउस कलेज, बानेश्वरमा यसको पढाइ हुँदै आएको छ ।
ब्याचलर अफ डेभलपमेण्ट स्टडिज (बिडेभ्स)
काठमाडौं विश्वविद्यालयले विकास र अनुन्धानमा बहुआयामिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित तयार पारेको डेभलपमेण्ट स्टडिज चारवर्षे कोर्स हो । विकासका क्षेत्रमा खड्किरहेको नेतृत्व, ज्ञान र फिल्ड रिसर्चको अभाव परिपूर्ति गर्ने उद्देश्यले तयार पारिएको यस विषय विकासोन्मुख देशका लागि उपयुक्त मानिन्छ । विदेशमा समेत यस कोर्सको राम्रो मान्यता छ । काठमाडौंस्थित नेशनल कलेजमा यो विषयको पढाइ हुँदै आएको छ ।