भदौ १, पेचिङ (चीन) । अमेरिका र चीनबीच यो महीनाको अन्त्यतिर हुने भनिएको मध्यम स्तरीय व्यापार वार्तामा चिनियाँ मुद्रा युआनको भाउमा आएको कमी मुख्य एजेण्डा हुने बताइएको छ । विश्लेषकहरुका अनुसार मुद्रा बजारमा हालै आएको उतारचढावको प्रभावबारे दुबै देश चिन्तित रहेकोले चिनियाँ युआन दुई पक्षीय वार्ताको केन्द्रमा रहने छ । ‘आगामी वार्ता रन्मिन्पि (युआन)सँग ठ्याक्कै कसरी डिल गर्ने भन्नेबारे हुनेछ,’ इन्ष्टिच्यूट अफ इन्टरनेशनल फाइनान्सका प्रमुख अर्थशास्त्री रविन बुक्सले भने । शुक्रवार बिहान एशियामा प्रतिडलर युआनको भाउ ६ दशमलव ८९ कायम भएको थियो । यो सन् २००८ को मेमा देखिएको विनिमय दर नजिक हो । यो वर्ष शुरु भएयता युआनको तुलनामा डलरको भाउ करीब ६ प्रतिशतले बढिसकेको छ । यसमध्ये अधिकांश वृद्धि पछिल्ला २ महीनामा भएका हुन् । अमेरिका र चीनबीचको बढ्दो व्यापार विवाद र अमेरिकामा भइरहेको क्रमिक ब्याजदर वृद्धिको कारण डलरको भाउ बढ्दा युआन कमजोर बनेको हो । एजेन्सी
कमजोर युआनमा केन्द्रीत हुँदै अमेरिका-चीन व्यापार वार्ता




