सल्यान (अस) । जिल्ला अस्पताल, सल्यानमा डेढ करोड लागतमा नयाँ भवन बन्ने भएको छ । जिल्लाको शारदा नगरपालिकाले अस्पताल सुविधासम्पन्न बनाउन मुख्य पूर्वाधारस्वरूप नयाँ भवन निर्माण गर्न लागेको हो । नगरपालिकाले जिल्लाको एक मात्र सरकारी अस्पताललाई ५० शøयाको पु¥याउने र सुविधायुक्त बनाउने उद्देश्य राखेको नगरप्रमुख सुरेश अधिकारीले बताए । अस्पतालको पूर्वाधार निर्माणलगायतको खर्चका लागि अघिल्लो आर्थिक वर्षको बजेटसहित २ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए ।
‘शारदा नगरपालिकाले अस्पताललाई व्यवस्थित र सुविधायुक्त बनाउन नयाँ प्राविधिक सामग्री, बढी क्षमताको जेनेरेटर, रक्तदानका लागि आवश्यक मेशिन र प्रयोगशालाका लागि कम्पुटर खरीद गरिसकेको छ,’ नगरप्रमुख अधिकारीले भने । अस्पतालको सेवा चुस्त र जनमुखी बनाउन ३१ जना नयाँ जनशक्तिको व्यवस्थाका साथै खानेपानी ट्याङ्कीसमेत निर्माण गरिएको उनले बताए ।
बिरामीहरू उपचारका लागि सकेसम्म बाहिर जान नपरोस् भन्ने उद्देश्यले अस्पतालमा नयाँ सेवासुविधा थप्ने काम भइरहेको बताइएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि अस्पतालमा सबै सेवासुविधा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ ।











