काठमाडौं । नेपालको पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल र्याडिसनमा आयोजना गरिएको एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नयाँ सिलिण्डर सार्वजनिक गरेका हुन् ।
पूर्ण–सुरक्षित र विष्फोटन नहुने विशेषता रहेको उक्त सिलिण्डर प्रयोग गर्दा पूर्ण सुरक्षित हुने बताइएको छ । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ । साथै, पारदर्शी भएकाले उपभोक्ताले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाँच्न सक्छन् । अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४ दशमलव २ केजी र ५ केजीमा उपलब्ध रहेको ग्यास उद्योगले जानकारी दिएको छ ।
विसं २०२६ मा स्थापित नेपाल ग्यास उद्योगले प्रारम्भिक अवस्थादेखि नै सुरक्षित सिलिण्डर उपलब्ध गराउँदै आएको बताएको छ । त्यसैको परिणाम यसले गुणस्तरका लागि आईएसआई स्टाण्डर्ड लिएको र प्रत्येक सिफ्टमा १२ हजार सिलिण्डर उत्पादन गर्नेे क्षमता रहेको उद्योगमा १ हजार मेट्रिक टनसम्म भण्डार क्षमता रहेको छ । हाल २ सय ६० भन्दा बढी डिलरले काठमाडौं उपत्यकाका उपत्यकाबाहिर २ सयभन्दा बढी डिलरमार्फत उपभोक्तसम्म ग्यास वितरण गरिरहेको उद्योगको भनाइ छ ।











