प्रमुख गतिविधि
नेपाल इन्भेष्टमेण्ट बैङ्कले युरोमनी पत्रिकाले प्रदान गरेको ‘नेपाल्स बेष्ट बैङ्क’को अवार्ड प्राप्त गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आवको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- बैङ्कले यो अवधिमा आफ्नो खुद नाफामा २६ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैङ्कले यो त्रैमासमा ३ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आवमा बैङ्कले ३ अर्ब १४ करोड खुद नाफा कमाएको थियो ।
- गत वर्षको चौथो त्रैमाससँग तुलना गर्दा बैङ्कको प्रतिशेयर आम्दानीमा सन्तुलित देखिन्छ । प्रतिशेयर आम्दानी ३७ दशमलव २३ रुपैयाँ प्रस्तुत गरेको छ ।
- निक्षेप र कर्जाको कुरा गर्दा उसले यो चौथो त्रैमासमा १ खर्ब ४० अर्ब निक्षेप उठाई १ खर्ब २० अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ ।
- निक्षेप ११ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १५ प्रतिशतले वृद्धि भएको छ ।
- बैङ्कको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी २१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ८७ करोड पुगेको छ । त्यस्तै, बैङ्कको सञ्चालन नाफा ५ अर्ब ५२ करोड रहेको छ ।
- बैङ्कको निष्क्रिय कर्जा शून्य दशमलव ८३ प्रतिशतबाट वृद्धि भएर १ दशमलव ०३ प्रतिशत भएको छ भने निष्क्रिय कर्जाका लागि १९६ दशमलव ७९ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- बैङ्कले प्रकाशन गरेको प्रकाशित चौथोे त्रैमासको वित्तीय विवरणअनुसार कोषको लागत ६ दशमलव ३१ प्रतिशत, आधार ब्याज दर ९ दशमलव ०२ प्रतिशत, वितरणयोग्य मुनाफा ३ अर्ब ५७ करोड रहेको छ ।
निष्कर्ष :
समीक्षा अवधिमा बैङ्कले निक्षेप तथा कर्जा परिचालनको आकार बढाएर आफ्नो खुद ब्याज आम्दानी पनि बढाएकाले प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सक्नु बैङ्कको सबल पक्षका रूपमा रहेको छ । तर, यसै अवधिमा देखिएको कोषको लागतमा आएको वृद्धि र निष्क्रिय कर्जाको अनुपातलाई कम गर्नुपर्ने चुनौती बैङ्कसमक्ष रहेको छ ।
प्राविधिक विश्लेषण : नेपाल इन्भेष्टमेण्ट बैङ्क प्रवृत्तिहीन
प्रतिरोध २ : ६६५ । प्रतिरोध १ : ६४० । हालको अन्तिम मूल्य : ६२९ । टेवा १ : ६२५ । टेवा २ : ६१०
बजारको अवस्था
यस कम्पनीको २० अगष्ट, २०१८ मा अन्तिम कारोबार मूल्य ६ सय २९ रहेको छ । यो अघिल्लो दिनभन्दा २ रुपैयाँ अर्थात् शून्य दशमलव ३२ प्रतिशतले कम हो । यो कम्पनीको १४ हजार ४ सय ७७ कित्ता शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनभन्दा २ हजार ८ सय ९० कित्ताले बढी हो ।
मूल्यको प्रवृत्ति विश्लेषण :
चार्टमा देखिएबमोजिम गत ७ सातादेखि बजार प्रवृत्तिहीन रहेको देखिन्छ ।
अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : लामो र छोटो समयावधिका ईएमएहरू आपसमा नजिकिँदै गएकाले बजारमा आपूर्तिभन्दा माग बढी रहेको सङ्केत गरेको छ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५४ अङ्कमा रहेको र यसको प्रवृत्तिले बजार सकारात्मक रहेको देखिन्छ ।
स्टोकाष्टिक अक्सिलेटर : यसको प्रवृत्तिले यो कम्पनीको शेयर केही सच्चिन सक्ने सङ्केत गरेको छ ।
मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले यस दिन बजारमा क्रेताभन्दा विक्रेताको चाप रहेको सङ्केत गरेको छ ।
निष्कर्ष :
माथि उल्लिखित सूचकहरूले बजारसम्बन्धी फरकफरक सङ्केत गरेको छ र मूल्य प्रवृत्ति हाल टेवा क्षेत्रमा रहे पनि मूल्य बढ्ने निश्चित सङ्केत कुर्नुपर्ने देखिएकाले हाल ‘पर्ख र हेर’को रणनीति अपनाउनु उपयुक्त देखिन्छ । हालको तत्कालीन प्रतिरोध ६ सय ४० मा रहेको देखिन्छ भने तत्कालीन टेवा ६ सय २५ मा रहेको देखिन्छ ।