भदौ ६, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
रू. १ करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर माविको १० कठ्ठा जमीनमा निर्माण गरिने नगर प्रमुख पाण्डेले जानकारी दिए । सो बजार केन्द्रको निर्माणका लागि यहाँका तरकारी तथा फलफूल व्यवसायीले रू. ८० लाख र अन्य बाँकी रकम उपमहानगरपालिकाले लगानी गर्ने अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।
बजार केन्द्रको स्थापना भएपछि सडक किनारमा कृषकले तरकारी बेच्ने क्रमको अन्त्य हुने अपेक्षा गरिएको छ । बजार केन्द्रमा कृषकका उत्पादन गरेको तरकारी विक्री गर्नका लागि पनि ठाउँ राखिने छ । ‘व्यवसायीका लागि मात्रै भन्दा पनि कृषकका लागि काम लागोस् भन्ने सोचका साथमा हामीले केन्द्रको स्थापना गर्न थालेका हौ,’ नगरप्रमुख पाण्डेले भने ।
तरकारी बजार केन्द्रको स्थापना हुने भएपछि अहिले तरकारी तथा फलफूल व्यापारीमा उत्साह छाएको छ । ‘तरकारी बजारको व्यवस्थापनका लागि बजार केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ तरकारी व्यवसायी झुपलाल खड्काले भने ।
तुलसीपुर उपमहानगरपालिकाका ६ का वडाध्यक्ष नवराज लामिछानेले तुलसीपुरलाई स्मार्ट सिटी बनाउनका लागि बजार केन्द्र स्थापना अपरिहार्य रहेको भन्दै यसले तुलसीपुरको सुन्दरतालाई बढाउँदै लैजाने बताए ।
विद्यालयको जग्गा व्यवस्थापनसँगै तुलसीपुरमा रहेको तरकारी तथा फलफुल बजार व्यवस्थित गर्नका लागि विद्यालयले जग्गा २० वर्षका लागि भाडामा दिएको सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । उनले बजार केन्द्र वैज्ञानिक ढङ्गले निर्माण गरिने भएकाले विद्यालयलाई कुनै पनि प्रभाव नपर्ने पनि बताए । रासस



