भदौ ७, नयाँ दिल्ली (भारत) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले भारतमा हाइ–एण्ड फोनका फिचर भएको सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । यसले स्मार्टफोन बजारमा मूल्य युद्ध चर्किने हो कि भन्ने चिन्ता गर्न थालिएको छ । कम्पनीले पछिल्लो संस्करणको स्न्यापड्र्यागन चिप, र ४ हजार एमएएचको ब्याट्री, ८ गिगाबाइट सम्मको र्याम भएको फोन पोको एफ १ ल्याएको छ । यो फोन प्रतिद्वन्द्वी कम्पनीहरुको फल्यागशीप मोडलहरुभन्दा आधा सस्तो छ । यसले अन्य कम्पनीहरुलाई भारतीय बजारमा आफ्नो उत्पादनको मूल्यबारे पुनःविचार गर्न बाध्य बनाउन सक्ने विश्लेषकहरु बताउँछन् ।
कम्पनीले भारतमा ६ जीबीको र्याम र ६४ जीबी इन्टरनल स्टोरेज भएको फोको एफ १ संस्करण २० हजार ९ सय ९९ रुपयामा उपलब्ध गराएको छ । यसैको टप–एण्ड संस्करणको मूल्य भने २९ हजार ९ सय ९९ तोकिएको छ । पोको एफ १ ले वन प्लस सिक्स र एसुसको जेनफोन ५ जेडलाई कडा टक्कर दिने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । भारतमा २९ अगष्टदेखि पोको एफ१ विक्री शुरु हुनेछ । कम्पनीले करीब ५० ओटा बजारमा यो फोन लैजाने योजना बनाइरहेका छन् ।मूल्य निकै सस्तो भएपनि साओमीले डिजाइनमा भने सम्झौता गरेको छ ।
कम्पनीले पछिल्लो फोनको डिस्प्लेमा कोर्निङकोे गोरिल्ला ग्लास पाँच वर्ष पुरानो संस्करण प्रयोग गरेको छ । क्यामरामा पनि अप्टिकल इमेज स्टेब्लाइजेशन छैन । साओमीले अहिले यस अघि आँखै नलगाएको बजारमा पनि छिरिरहेको छ र त्यहाँको मोबाइल फोन सेवा प्रदायकहरुसँग छलफल गरिरहेको छ । फोनमा क्वालकम चीप प्रयोग भएकोले पछिल्लो स्मार्टफोन उनीहरुले रुचि देखाउने विश्लेषण गरिएको छ । एजेन्सी




