सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाले त्यहाँको वायरलेश नेटवर्कमा कम्पनीको फाइभजी नेटवर्क उपलब्ध गराउन प्रतिबन्ध लगाएको चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले बताएको छ । हुवावेईका अनुसार जेड्टीईमाथि पनि यस्तै प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै त्यस्तो गरिएको बताइएको छ । ‘उपभोक्ताहरूका लागि यो अति निराशाजनक परिणाम हो,’ ट्विटरमा हुवावेईले भनेको छ । फाइभजीमा फोरजी नेटवर्कको तुलनामा निकै तीव्र गतिमा डाटा डाउनलोड गर्न सकिन्छ र यसको अपलोड स्पीड पनि तीव्र हुन्छ । यसलाई मोबाइल इण्टरनेट कनेक्टिभिटीको नयाँ चरण मानिएको छ ।
विश्वका विभिन्न देशहरूले फाइभजी मोबाइल नेटवर्क शुरू गर्ने तयारी गरिरहेका छन् । यद्यपि, सन् २०२० सम्म केही देशमा मात्रै फाइभजी सेवा शुरू हुने विशलेषकहरू बताउँछन् । ‘फाइभजी मोबाइल पूर्वाधार विस्तारमा महत्त्वपूर्ण तरङ्ग बन्नेछ,’ परामर्शदार्ता कम्पनी कनेक्टिभिटी एक्सका मार्क न्यूम्यानले भने । अहिलेकै आपूर्तिकर्ताहरूलाई प्रतिबन्ध लगाउने हो भने उनीहरूलाई ठूलै धक्का लाग्ने चिन्ता उनले व्यक्त गरेका छन् ।
हुवावेई विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण कम्पनी हो । विश्वको स्मार्टफोन बजारमा पनि यो सामसुङपछि दोस्रो स्थानमा छ । फाइभजीमा पनि हुवावेई अन्य कम्पनीभन्दा अगाडि छ । एजेन्सी











