भदौ ९, बुटवल । नेप्से परिसूचकमा आएको गिरावटका कारण शेयर बजार कारोवार गर्ने बुटवलस्थित ब्रोकर (शेयर दलाल) कार्यालय सुनसान जस्तै देखिन थालेका छन् । लगानीकर्ताको भिडभाड भइरहने ब्रोकर कार्यालयमा आजभोली लगानीकर्ताको चहलपहल कम देखिन थालेको ब्रोकर कार्यालयले बताएको छ ।
यो साताभर बजार तल ओर्लेका कारणले लगानीकर्ता निराश भएको दक्षिणकाली इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली (३३ नं ) का शङ्कर भण्डारीले बताए । उनले लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएको उल्लेख गर्दै लगानीकर्ताको मनोविज्ञान बढ्नुपर्ने अहिलेको अवस्थामा पनि नेप्से परिसूचक बढ्न नसकेको बताए ।
भण्डारीका अनुसार यो साता इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्राली, बुटवलबाट कूल रू.४२ लाख ६५ हजार ७५ बराबरको मात्रै शेयर कारोबार भएको छ । गत साता सो सेक्युरिटिजबाट ३६ लाख दुई हजार ३ सय ६९ बराबरको मात्रै कारोवार भएको थियो । यसले मोफसलमा पनि शेयर बजारमा गिरावट आएको देखाएको छ ।
आर्यनतारा इन्भेष्टमेण्ट बुटवल (५७ नं) का टेकराज भट्टराइले शेयर बजार कुन कम्पनीले कस्तो लाभांश दिन्छन, भन्ने पर्खाइमा रहेको हुनसक्ने अनुमान गर्दै बजारमा कम्पनीले दिने नगद लाभांश भन्दा बोनस शेयरमा आर्कषण रहेको बताए । उनले नेप्से परिसूचक राताम्मे भएको बेला लगानीकर्ताको मनोवल कमजोर भएको र बजारमा हरियाली छाउँदा लगानीकर्ता सक्रिय देखिएको बताए । भट्टराइले यो साता सेक्युरिटिजबाट रू.एक करोड ७१ लाख ६३ हजार ४ सय ४१ शेयर कारोबार भएको जानकारी दिँदै कारोबार पहिलेकोभन्दा केहि घटेको जानकारी दिए । गत साता एक करोड ६० लाख ९४ हजार ६ सय ४३ को कारोवार भएको थियो ।
बुटवलमा एशियन सेक्युरिटिज, मिडास सेक्युरिटिज लगायतका अन्य विभिन्न ब्रोकर कार्यालयले पनि शेयर खरीद विक्रीको कारोबार गर्दै आएका छन् । बुटवलमा रुपन्देहीबाहेक नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाबाट शेयर कारोवार गर्न लगानीकर्ता आउने गरेका छन् । रासस




