वाशिङ्टन पोष्ट (अमेरिका) । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी ‘टेस्ला इङ्क’का प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कम्पनीलाई ‘प्राइभेट’ बनाउने योजना त्यागेका छन् । योजना सार्वजनिक भएको २ हप्तामै रद्द भएको हो । बिहीवार कम्पनीको सञ्चालक समितिको बैठकपछि मस्कले कम्पनीको वेबसाइटमा प्रकाशित एक पोष्टमा यसबारे लेखेका हुन् । पछिल्लो निर्णयबारे उनले कर्मचारीहरूलाई ईमेल पनि पठाएका छन् । यो कर्मचारी र लगानीकर्ताहरूको हितमा भएको उनले ईमेलमा उल्लेख गरेका छन् ।
नाष्डाक स्टक एक्सचेञ्जमा सूचीकृत रहँदै आएको टेस्लाको शेयरलाई त्यहाँबाट हटाउने बताएयता कम्पनीको शेयरमूल्य २० प्रतिशत घटेको छ । त्यतिबेला डी–लिष्ट गर्नु नै कम्पनीको लागि सबैभन्दा उत्तम बाटो हुने दाबी उनले गरेका थिए । तर, अहिले उनले यू–टर्न लिएका छन् । ‘मलाई लाग्छ कि टेस्ला पब्लिक कम्पनीकै रूपमा रहनु उत्तम बाटो हो,’ सञ्चालक समितिको बैठकमा उनले भने ।
कम्पनीमा मस्कको २० प्रतिशत शेयर छ । लगानीकर्ताहरूलाई खुशी बनाउन छोटो समयमै निर्णय गरिहाल्नुपर्ने दबाब नरहने आशाले उनले कम्पनीलाई डी–लिष्ट गर्न खोजेका थिए । यसबारे उनले शेयरधनीहरूसँग पनि वार्ता गरेका थिए । लगानी जुटाउन प्रमुख बैङ्कहरूसँग पनि छलफल चलिरहेको थियो । तर, वार्ता सफल हुन सकेन । कम्पनीलाई प्राइभेट बनाउने मुद्दाका कारण पनि उनले योजना त्यागेको हुन सक्ने अनुमान गरिएको छ ।
लगानीकर्ताहरू कलमन आइज्याक्स र विलिमय च्याम्बरलेनले अगष्टको मध्यतिर कम्पनी र मस्कमाथि सन फ्रान्सिस्कोको सङ्घीय अदालतमा दुईओटा सामूहिक मुद्दा हालेका थिए । योजना रद्द भए पनि मुद्दा भने चलि नै रहनेछन् । मस्कले अगष्ट ७ मा गरेको ट्वीटले शेयरबजारसम्बन्धी कानूनको उल्लङ्घन गरेको छ कि छैन भन्नेबारे अमेरिकाको शेयरनियामक सेकको अनुसन्धान पनि चलि नै रहनेछ । मस्कले अगष्ट ७ मा कम्पनीको बाँकी शेयर प्रतिकित्ता ४ सय २० डलरमा किन्ने र रकमको जोहोसमेत गरिसकेको ट्वीट गरेका थिए । एजेन्सी