निर्मला पन्त हत्या प्रकरण : एसपी विष्टलाई निलम्बन गर्न निर्देशन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा शनिवार गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र ३ ओटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । पन्तको हत्यारा पक्राउको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै सरकारले केही दिन अगाडि प्रहरी उपरीक्षक विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई कञ्चनपुरबाट सरुवा गरेको थियो । बैठकले प्रहरी नायब उपरीक्षक सेठी र घटनाको अनुसन्धानमा तोकिएका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाउने निर्णय गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । कञ्चनपुर घटनाका दोषीलाई कारवाही : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । रासस बम दिदीबहिनी नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला पन्त हत्याकाण्डको अनुसन्धानका लागि भन्दै भीमदत्तनगरपालिका–१८ का रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएको बताएका छन् । रोशनी बम बलात्कारपछि हत्या गरिएकी निर्मलाका साथी हुन् । गत साउन १० गते उनकै घरमा निर्मला स्कूलको गृहकार्य गर्न भनेर पुगेकी थिइन् । गृहकार्य गरेर घर फर्किने क्रममा निर्मलाको हत्या भएको थियो । साउन ११ गते बिहान निर्मलाको उखुबारीमा शव भेटिएपछि सोही बेला रोशनीको घरमै उनको हत्या भएको सर्वत्र आशङ्का गरिएको थियो । तर कञ्चनपुर प्रहरीले घटनाको केही दिनपछि बम दिदी÷बहिनीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । घटनाको बमद्वयको संलग्ना नदेखिएको भन्दै प्रहरीले दुवैलाई साधारण तारेखका छाडेको थियो । अनुसन्धानका लागि यहाँ आएको छानबिन समिति र स्थानीय प्रशासनको नयाँ नेतृत्वलाई बमको घरबाट अनुसन्धान थाल्न व्यापक दबाब परेको छ । प्रहरी उपरीक्षक कडायतले पनि अनुसन्धानका लागि बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर सोधपुछ शुरू भइसकेको जानकारी दिए ।