काठमाडौं । खुद ब्याज आम्दानीको भरमा नाफा बढेको देखाउने वाणिज्य बैङ्कहरूको खुद ब्याज आम्दानीमा निर्भरता गत आवमा पनि उच्च छ । यी बैङ्कको शुल्क, कमिशन र बट्टा आम्दानीको वृद्धिदर भने ब्याज आम्दानीको तुलनामा बढेको छ । सम्बन्धित बैङ्कहरूको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विकसित वित्तीय बजार भएको मुलुकका वाणिज्य बैङ्कको ब्याज आम्दानी र ब्याज खर्चबीचको अन्तर निकै कम हुने गर्छ । आधुनिक बैङ्कहरू थोरै ब्याजदर अन्तरले पनि नाफामा वृद्धि गरिरहेका हुन्छन् । यस्ता बैङ्कहरू ब्याज आम्दानीमा वृद्धिभन्दा पनि शुल्क, कमिशन र बट्टा आम्दानी बढाउन प्रयास गर्छन् ।
वित्तीय विवरणका आधारमा राष्ट्रिय वाणिज्य बैङ्क, हिमालयन बैङ्क, नेपाल बङ्गलादेश बैङ्क र नेपाल एसबीआई बैङ्कबाहेक बाँकी २४ वाणिज्य बैङ्कको शुल्क, कमिशन र बट्टा आम्दानीमा वृद्धि भएको छ । यो आम्दानी उच्चदरले बढ्ने बैङ्कमा जनता बैङ्क रहेको छ । यस बैङ्कको शुल्क, कमिशन र बट्टा आम्दानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १ सय ५१ दशमलव ८३ प्रतिशत बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी पनि १ सय ४ दशमलव ९६ प्रतिशतको उच्चदरले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा उसको सो आम्दानी रू. ५ करोड २२ लाख थियो भने गत आवमा बढेर रू. १३ करोड १५ लाख पुगेको छ । सोही अवधिमा सम्भावित नेक्सानी व्यवस्थाबाट फिर्ता भएको रकममा भने ८६ दशमलव ३७ प्रतिशत कमी देखिएको छ । अघिल्लो आवमा यस बैङ्कको शुल्क, कमिशन र बट्टा आम्दानी घटेको थियो ।
त्यसैगरी नेपाल एसबीआई बैङ्कको भने शुल्क, कमिशन र बट्टा आम्दानी ७ दशमलव ९२ प्रतिशत घटेर रू. ४४ करोड ८९ लाखमा सीमित छ । तर, यस बैङ्कको खुद ब्याज आम्दानी ३९ दशमलव ३८ प्रतिशत बढेको छ भने खुद नाफा २७ दशमलव ३७ प्रतिशत बढेको छ । कम्पनीको सम्भावित नेक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम ६६ दशमलव १२ प्रतिशत घटेर रू. ९४ लाख ९७ हजार पुगेको छ ।
नेपाल बैङ्कको शुल्क, कमिशन र बट्टा आम्दानी अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९७ दशमलव ३४ प्रतिशत, एनसीसी बैङ्कको ७४ दशमलव ८६ प्रतिशत, सिद्धार्थ बैङ्कको ५८ दशमलव ३४ प्रतिशत र कुमारी बैङ्कको ५६ दशमलव १९ प्रतिशत बढेको छ । सबैभन्दा कम प्रतिशत वृद्धि हुनेमा नबिल बैङ्क छ । यस बैङ्कको सो आम्दानी ४ दशमलव ४३ प्रतिशत बढेर रू. ६० करोड ५४ लाख पुगेको छ ।