भदौ १०, काठमाडौं (अस) । रक्षा बन्धन तथा जनैपूर्णीमा पर्व आइतवार देशभर विभिन्न मठ मन्दिर र देवालयमा गएर मनाईदै छ । आइतवार परेको श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँधी, जनै धारण गर्नेहरुले जनै फेरेर मन्त्रोच्चारण गरी यो पर्व मनाउने चलन छ ।
‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ” भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा अहिलेसम्म पनि प्रचलित छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यो पर्वका अवसरमा रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, काठमाडाँैको मणिचूड, काभ्रेको गोसाँईकुण्ड, काभ्रे र भक्तपुरको सीमानामा रहेको महादेवपोखरी, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागेको छ ।
तस्वीर : काभ्रे र भक्तपुरको सीमामा रहेको रत्नचुण्डेश्वर महादेवको मन्दिरमा जनैपूर्णीमाका अवसरमा लागेको मेलामा आएका भक्तजन । तुफान घिमिरे










