विराटनगर (अस) । देशभरका स्थानीय तहले बढाएको करको सर्वत्र विरोध भइरहेका बेला मोरङको सुन्दरहरैचा नगरपालिकाले भने १५ ओटा शीर्षकमा कर निःशुल्क गरेको छ । नगरपालिकाले पञ्चेबाजा दर्ता, अपाङ्गता भएका व्यक्तिको सिफारिश, जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइँ दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको सिफारिश, घरटहरामा आगलागी भएको सिफारिश, अल्पसङ्ख्यक दलित, गरीब र पिछडावर्गका लागि नागरिकता सिफारिश, सबै प्रकारका अनुसूची फारम, शववाहन सेवा, दमकल सेवालगायत निःशुल्क गरेको हो ।
यसैगरी महिलाको नाममा दर्ता भएको व्यवसायमा २० प्रतिशत, विद्यार्थीका लागि गरिने सबै सिफारिशका लागि ५० प्रतिशत र २५ लाखसम्मको उद्योग सिफारिशका लागि ५० प्रतिशत शुल्क छूट गरिएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । नगरका विभिन्न आठ स्थानमा सुविधासम्पन्न तथा नेपालकै नमूना पुस्तकालयसहित सार्वजनिक शौचालय निर्माणाधीन रहेको उनले बताए । नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई पोषणभत्ताको व्यवस्था, पर्यटकीय क्षेत्र हसिना सिमसारको स्तरोन्नति र उक्त क्षेत्रमा सीसीटीभी जडान गरिएको छ । राष्ट्रपति चुरे संरक्षणअन्तर्गत वासुकी पोखरी निर्माणका साथै भुल्के जलाधार क्षेत्रको विकास र कालीखोलामा पूर्वाधार निर्माणमा ध्यान दिइएको छ ।
नगर क्षेत्रमा धार्मिक आस्थाका लागि तीनओटा गुम्बा, दुईओटा मस्जिद, सातओटा ग्रामथानलगायतको निर्माण भएको छ । यस्तै, सडकको चौडाइ ८२ फीट कायम गरिएको छ । नगरपालिकाले बाढीपीडितलाई राहत सामग्री वितरणका साथै हात्ती नियन्त्रणमा केही मात्रामा पहलसमेत गरेको छ ।




