सल्यान (अस) । खोलाले तटबन्ध बगाएपछि सल्यानको लेखपोखरा, स्यानीखाल जाने मोटरबाटो अवरुद्ध भएको छ । अविरल वर्षाले साँघार खोलाको तटबन्ध बगाएपछि सडक अवरुद्ध भएको हो । सडकबाटै खोलो बग्न थालेपछि स्यानीखाल, लेखपोखरालगायत क्षेत्रका २ हजारभन्दा बढी घरपरिवार मर्कामा परेका छन् ।
यातायात ठप्प भएपछि स्थानीयवासी घण्टौं पैदलयात्रा गर्न बाध्य भएका छन् । पैदल हिँडेरै उनीहरू उपभोग्य सामग्री किन्न लान्तीबजार आउने गरेका छन । गाडी नचल्दा गाउँमा उत्पादित वस्तु बाहिर लैजान र बाहिरबाट उपभोग्य सामग्री गाउँमा ल्याउन समस्या भएको स्थानीयको गुनासो छ ।
बाढीले बाँधका लागि लगाइएको तारजालीसमेत बगाएको स्थानीय वेदराज विष्टले बताए । ‘लगातारको वर्षाका कारण सय मिटरभन्दा बढी सडक क्षेत्रमा खोला बगेको छ,’ उनले भने, ‘खोलाले सडकको छेउको भागसमेत कटान गरेको छ ।’ सडक अवरुद्ध भएपछि बिरामीलाई उपचारका लागि लैजान समस्या भएको उनको भनाइ छ । आर्थिक वर्ष २०५५/५६ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा यस क्षेत्रमा सडक निर्माण गरिएको थियो ।











