साढे १ अर्ब राजस्व सङ्कलन

चितवन (अस) । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्ष २०७४÷७५ मा १ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ महशुल सङ्कलन गरेको छ । सो अवधिमा प्राधिकरणले १५ करोड ९६ लाख ५२ हजार ३ सय ६० युनिट विद्युत् विक्री गरेको छ । सबैभन्दा धेरै गार्हस्थ्य लाइनबाट राजस्व सङ्कलन भएको छ । गार्हस्थ्यबाट रू. ७३ करोड ७६ लाख महशुल सङ्कलन भएको केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए । उनका अनुसार अस्थायी बत्तीमा सबैभन्दा कम विद्युत् खपत भएको छ । कार्यालयको तथ्याङ्कअनुसार अस्थायी बत्तीमा १४ हजार ७ सय ४ युनिटमात्रै विद्युत् विक्री भएको छ, जसबाट जम्मा रू.४ लाख ९८ हजार सङ्कलन भएको छ । लोडशेडिङ अन्त्य भएसँगै राजस्व रकम बढेको महतोले बताए । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा १ दशमलव १८ प्रतिशतले कमी आएको छ ।