भदौ १२, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)स्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक मङ्गलवारदेखि काठमाडौंमा शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र एशियाली कृषक सङ्घ (एएफए)को संयुक्त आयोजना तथा कृषि विकासका लागि अन्तरराष्ट्रिय कोष (आइएफएडी)को सहयोगमा बैठक शुरु भएको हो ।
दिगो विकास लक्ष्यअनुसार दक्षिण एसियामा गरीबी एवम् भोकमरी अन्त्य गर्न कृषक परिवारको सङ्गठित र सबलीकरणमा लागि सहकार्य भन्ने मुख्य मुद्दामा केन्द्रित सो बैठक तीन दिनसम्म चल्ने काठमाडौंस्थित सार्क सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा सार्कका महासचिव अम्जद हुसैंन वि सियलले सन् २००८ मा भएको सार्क मुलुकका कृषिमन्त्रीको बैठकले ‘सार्क एग्रिकल्चर भिजन–२०२०’ अङ्गीकार गरेको जानकारी दिए । उनले भने, ‘कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई अङ्गीकार गरी उत्पादित सामग्रीको बजारीकरण गराउन साना कृषि खेती प्रणालीले अवरोध गरेको छ ।’
कृषक परिवारको सङ्गठित सहकार्यले खाद्य सुरक्षा प्राप्त गर्न, पोषण सुधार, गरिबी निवारण र भोकमरीको अन्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । दक्षिण एसियाका साना आकारका खेती प्रणाली आधुनिक प्रविधिको प्रयोग र उत्पादित कृषि उपजको बजारीकरणका लागि गम्भीर अवरोध भएको भन्दै महासचिव अम्जदले कृषिमा सहकार्य आवश्यक भएको बताए ।
उनले दक्षिण एसियाका ग्रामीण भेकमा बस्ने बहुसङ्ख्यक जनताको जीवन भूमि, शुद्ध पिउनेपानी, तटीय क्षेत्रमा माछापालन, वन जङ्गललगायत प्राकृतिक सम्पदामा निर्भर रहेको बताए ।
बैठकमा सार्क सदस्य मुलुकका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ । रासस










