सम्मानजनक व्यवहार गर्न निर्माण व्यवसायीको आग्रह
चितवन (अस) । सरकारले व्यवसायीमैत्री वातावरणको निर्माण गर्दै निर्माण व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न आग्रह गरेका छन् । बुधवार निर्माण व्यवसायीको २५औं वार्षिक साधारण सभामा उनीहरूले यस्तो आग्रह गरेका हुन् । निर्माण कार्य समयमै सम्पन्न नहुनुमा निर्माण व्यवसायी मात्र दोषी नरहेको भन्दै उनीहरूले आफूलाई कालोसूचीमा राखेर अपमान गरेको गुनासो गरे । कार्यक्रममा महासङ्घ अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई समाजले र राजनीतिज्ञले हेर्ने फरक दृष्टिकोण रहेकोमा चिन्ता व्यक्त गरे । २५ लाख निर्माणकर्मी संलग्न व्यवसायलाई चोरफटाहाको श्रेणीमा राखेर व्यवहार गर्दा अधिकांश व्यवसायी पलायन हुने अवस्था रहेको उनले बताए । विदेशका ठूलाठूला महल र पुल बनाउन नेपालीले नै गर्दा सम्भव भएको भन्दै श्रेष्ठले देशमा रोजगारी सिर्जना गर्नसमेत व्यवसायीमैत्री वातावरणको आवश्यकता रहेको बताए । कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष हरिप्रसाद घिमिरेले नयाँ मुलुकी ऐनले व्यवसायीलाई अपराधी र भ्रष्टको सूचीमा राखेर फौजदारी अभियोग लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिका मझवाङमा रहेको राष्ट्रिय कालिका माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । यस्तै, निर्माण व्यवसायीको परिवारबाट एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल कृषा लामिछाने, अनिषा कँडेल र प्रवीण पौडेललाई पुरस्कृत गरिएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed