स्थापना दिवसमा सहाराका विद्यार्थीलाई इक्यानको सहयोग

पोखरा (अस) । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि परामर्श सेवा प्रदान गर्दै आइरहेको परामर्शदातृ संस्थाको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) स्थापनाको २२औं वर्ष पुगेको छ । स्थापना दिवसका अवसरमा इक्यान कास्कीले सहारा बाल आधारभूत विद्यालय बसपार्क पोखराका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका २ सय ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव भुवन क्षेत्रीले बताए । इक्यानका केन्द्रीय सदस्य कर्णबहादुर गुरुङले स्थापना दिवसमा शैक्षिक सामग्री वितरण गरेर इक्यान कास्कीले रचनात्मक काम गरेको भनाइ राखे । संस्थाले विभिन्न समयमा सामाजिक काम गर्दै आइरहेको कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले बताए । संस्थाका सदस्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख ओमप्रकाश गैरैको संयोजकत्वमा कार्यक्रम भएको हो । इक्यान कास्कीको सहयोगले विद्यार्थी लाभान्वित भएको प्रधानाध्यापक लोचना अधिकारीले बताइन् ।