सुर्खेतबाट काठमाडौंका लागि छुट्यो ‘एयर हिल्सा’

सुर्खेत (अस) । हिल्सा पब्लिक यातायात कम्पनीले बुधवारदेखि सुर्खेत–काठमाडौं रूटमा रात्रिकालीन बससेवा शुरू गरेको छ । अपराह्न ५ बजे ना७ख ६०४८ नम्बरको बस सुर्खेत बसपार्कबाट काठमाडौंका लागि गुडेको हो । सुविधायुक्त युरो तीन एयर बसहरूमार्फत सेवा दिन लागेको कम्पनीले नियमित रूपमा सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत बससेवा सञ्चालन हुने बताएको छ । कम्पनीका सचिव जीवनकुमार शर्माले यात्रुको मागलाई मध्यनजर शुरू गरिएको बसमा फ्री–वाईफाई, डी–फ्रिज, सीसी क्यामरा, हिटर, कुलर, यूएसबी चार्जर र सिट बेल्टको व्यवस्था रहेको जानकारी दिए । एयर हिल्सा नाम दिइएको कम्पनीले ८६ लाख रुपैयाँ मूल्यमा बस भित्र्याएको हो । कम्पनीले पहिलो चरणमा सङ्घीय राजधानी काठमाडौंका लागि ९ ओटा बस सञ्चालनमा ल्याएको छ । २ करोड शेयर पूँजी लगानीबाट शुरू भएको हिल्सा पब्लिक कम्पनीमा अहिले सबैखाले गरी ४६ ओटा गाडी ल्याइसकिएको सचिव शर्माले जानकारी दिए । कम्पनीका गाडी सुर्खेतदेखि काठमाडौं, दैलेख, नेपालगञ्ज, धनगढी, दाङलगायत कर्णालीका अधिकांश जिल्लामा सञ्चालनमा ल्याइसकिएको उनले बताए । कम्पनीले मुलुकका जुनसुकै ठाउँका यातायात व्यवसायीलाई कम्पनीमा आबद्ध हुन पाउने व्यवस्था गरेको छ ।