४२% ले चुक्तापूँजी वृद्धि गरेको सपोर्ट माइक्रोफाइनान्सको नाफा ३८% घट्यो

भदौ १४, काठमाडौं (अस) । गत आर्थिक वर्षको चौंथो त्रैमासमा ४२ प्रतिशतले चुक्तापूँजी वृद्धि गरी रू. ६ करोड पुर्‍याएको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाफामा भने ३८ प्रतिशत कमी आएको छ । गत वर्ष आईपीओ जारी गरी चुक्तापूँजी बढाएको यस कम्पनीले अघिल्लो वर्ष रू. ३६ लाख ७३ हजार नाफा कमाएकोमा गत वर्ष रू. २२ लाख ६७ हजार मात्र नाफा आर्जन गरेको हो । गत वर्ष सञ्चालन नाफा घटेकाले पनि नाफा घटेको देखिन्छ । अघिल्लो वर्ष रू. ५७ लाख ९२ हजार सञ्चालन नाफा गरेको यस कम्पनीले गत वर्ष रू. ३५ लाख ६३ हजार मात्र सञ्चालन नाफा गरेको छ । कर्मचारी खर्च शीर्षकमा अघिल्लो आवको तुलनामा ९० प्रतिशत बढी रू. १ करोड ८८ लाख २८ हजार खर्च भएको छ । कम्पनीको जगेडा कोष भने अघिल्ला वर्षको तुलनामा २ सय १९ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. १० लाख रहेको जगेडा कोष रकम गत वर्षको चौंथो त्रैमासमा रू. ३१ लाख ९५ हजार पुगेको छ । यस अवधिमा कम्पनीले रू. १० लाख लगानीमा रहेको उल्लेख गरेको छ । कम्पनीले रू. ७ करोड ३ लाख ८१ हजार निक्षेप सङ्कलन र रू. ३९ करोड ७९ लाख ९६ हजार कर्जा प्रवाह गरेको छ । चौंथो त्रैमासमा प्रतिशेयर आम्दानी रू. ३ दशमलव ७८ र प्रतिशेयर नेटवर्थ रू. १ सय ११ दशमलव २८ रहेको छ ।