राष्ट्रपति विद्या भण्डारी र ऊर्जामन्त्रीले विद्युतीय गाडी चढ्न शुरू गरेको समाचार पढ्न पाइयो । वातावरण संरक्षण र स्वच्छतर उत्पादनका दृष्टिले धेरै नै महत्त्वपूर्ण समाचार हो । सिंहदरबारभित्रका मन्त्रालयले धेरै गाडी किन्नुभन्दा सुविधासहितको बस प्रयोगमा ल्याउँदा गाडी किन्ने खर्च घट्ने, प्रत्येक दिन हुने इन्धन खर्च बच्ने, प्रदूषण घट्ने एवम् काठमाडौंको जाम घटाउन धेरै मद्दत पुग्ने देखिन्छ । यस्तो स्वच्छतर उत्पादनका कार्यमा संलग्न हुँदा समग्रमा नेपालले भोगिरहेको व्यापारघाटाको समस्या कम गर्न पनि सकिने देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमबाट सन् १९८९ मा स्वच्छतर उत्पादन अवधारणको शुरू भएको थियो । यो वातावरण संरक्षणको एकीकृत विधि हो । स्वच्छतर उत्पादन अभ्यास औद्योगिक क्षेत्रबाट आएको विषय हो । यसलाई विकास निर्माण, पर्यावरण संरक्षण, सुरक्षा, प्रशासन र अन्य क्षेत्रमा पनि प्रयोगमा ल्याउन सकिने एवम् यसबाट फाइदा लिन सकिने देखिन्छ । सरकारी कार्य सम्पादनमा विद्युतीय माध्यमको धेरै प्रयोग गर्दा कागजको प्रयोग कम हुनु पनि स्वच्छतर उत्पादन हो । कुनै पनि उत्पादनशील उद्योग, सेवा प्रवाह, विकास निर्माण कार्य गर्ने क्रममा कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, रसायन, पानी, ऊर्जा, श्रमलगायत आगतहरूको प्रयोग हुने गर्छ । सबै आगत प्रयोग गरी आवश्यकताअनुसार प्रशोधन, प्रयोगको प्रक्रिया पूरा भए पनि सङ्गठनको उद्देश्यअनुसारको वस्तु र सेवा उत्पादन हुने गर्छ । वस्तु उत्पादन गर्ने क्रममा तयारी मालका साथै खेर जाने वस्तु र जोखीम पनि आउने गर्छन् । खेर जाने वस्तु र जोखीम जति धेरै हटाउन वा घटाउन सक्यो उत्ति नै धेरै उत्पादन र उत्पादकत्व बढी हुने गर्छ । खेर जाने वस्तु ठोस, तरल र वाष्पको रूपमा उत्पादन हुने गर्छ । खेर जाने वस्तु जति बढी भयो उति नै धेरै प्रदूषण र सङ्गठनलाई नोक्सानी हुने गर्छ । खेर जाने वस्तु बढी हुँदा त्यसको व्यवस्थापन गर्न सङ्गठनलाई बढी खर्च लाग्नुको साथै समुदायलाई नराम्रो असर परी उद्योग र समुदायबीच सम्बन्ध बिग्रन सक्छ । खेर जाने ठोस पदार्थ विक्री गरेमा पनि थोरै आम्दानी हुनुका साथै व्यवस्थापनमा पनि खर्च लाग्छ । खेर गएको तरल पदार्थ खोलानाला, तालतलैया, सिमसारमा पुग्दा उक्त स्थानमा रहेका जलचरलाई नकारात्मक असर गर्नुका साथै मानव स्वास्थ्यमा पनि नराम्रो असर पर्छ । खेर जाने धूलो, धूवाँ, वाप्पबाट वायुप्रदूषण हुन्छ । उत्पादनका प्रक्रियामा हुने जोखीमका कारण दुर्घटना भई मानवीय क्षति, अङ्गभङ्गजस्ता समस्या आउने एवम् व्यवसायजन्य रोग लाग्न सक्ने सम्भावना रहन्छ । स्वच्छतर उत्पादन यी सबै समस्यालाई न्यूनीकरण गर्ने विधि हो ।
स्वच्छतर उत्पादन कसरी गर्ने सबै ठाउँमा एउटै विधि हुँदैन । ब्वाइलरबाट धेरै तातो बाहिर आएमा ऊर्जा खपत बढ्छ, काम गर्ने कर्मचारी कामदारको स्वास्थ्यमा नराम्रो असर पर्दछ । ब्वाइलर मर्मत र इन्सुलेटरको प्रयोगबाट खेरजाने तातो घटाउन सकिन्छ । सिमेण्टलगायत उद्योगबाट धूलो उडेमा धूलो नियन्त्रण गर्ने प्रविधि प्रयोगमा ल्याउँदा उत्पादन बढ्छ । सडक निर्माण गर्दा ढल, विद्युत्का पोल, खानेपानीलगायत काम सँगसँगै गराउँदा कम खर्च लाग्नुका साथै टिकाउ हुन्छ । यी त केही उदाहरण मात्र हुन् । उद्योग, सेवा प्रवाह र विकास निर्माणका क्रममा खेर जाने वस्तु कम गर्न र प्रदूषण नियन्त्रण गरी पर्यावरणमैत्री उत्पादन कार्य गर्न पर्याप्त योजना र अध्ययन अनुसन्धान जरुरी हुन्छ । उचित उत्पादन विधि र प्रविधिको प्रयोगबाट मात्र स्वच्छतर उत्पादन सम्भव छ । उत्पादित वस्तु र सेवाबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर नगर्ने र पर्यावरणको पनि संरक्षण हुने उत्पादन विधि स्वच्छतर उत्पादन हो । स्वच्छतर उत्पादनको अवधारण दिगो विकासको अवधारणासँगै आएको हो । पूर्वीय दर्शनमा अन्न खोर फाल्न नहुने, पानीमा दिसापिसाब गर्न नहुने, चौतारा बनाउने, पानीमा विषादी राख्न नहुने यस्तो कार्य गरेमा पाप लाग्ने जस्ता कुरा उठाएर स्वच्छतर उत्पादनतर्फ जोड दिइएको छ । नेपालको कृषि उत्पादन खास गरी तरकारी खेतीमा अत्यधिक विषादीको प्रयोग भएकाले कृषिमा स्वच्छतर उत्पादन देखिँदैन । विकास निर्माण, सेवा प्रवाहमा पनि स्वच्छतर उत्पादन अभ्यासलाई अवलम्बन गर्न सकिएको अवस्था छैन ।
स्वच्छतर उत्पादन गर्न राम्रो गृह सम्भार र प्रक्रिया नियन्त्रण, उपकरणमा सुधार र प्रविधि परिवर्तन, गुणस्तरीय कच्चा पदार्थको प्रयोग, उत्पादित वस्तु परिमार्जन र सहउत्पादन, लेआउट परिमार्जनजस्ता विधिको प्रयोग गर्न सकिन्छ । अभिलेख व्यवस्थापनले स्वच्छतर उत्पादनलाई सहयोग गर्छ । नेपालका उद्योगहरूमा खरीद र विक्रीको अभिलेख केही हदसम्म राखिएको पाइए तापनि के कतिखेर गइरहेको छ भन्ने अभिलेख राख्ने गरेको पाइँदैन । यस प्रकारको अभिलेख नराख्दा स्वच्छतर उत्पादनको योजना बनाउन कठिनाइ हुने गर्छ । कच्चा पदार्थ र तयारी माल चुहिएको, सिमेण्ट उद्योगमा धूलो उडेको, कारखानाको चिम्नीबाट कालो धूवाँ आइरहेको, राम्रो भण्डारण व्यवस्थापन गर्न नसक्दा अन्न कुहिएको, मुसाले खाइरहेको छ भने पैसा खेर गइरहेको छ भन्न सकिन्छ । चिम्नीबाट कालो धूवाँ आउनु भनेको इन्धनमा रहेको कार्बन राम्ररी बलिरहेको छैन, इन्धन र अक्सिजनको मात्र मिलाउन सकिएको छैन भन्ने बुझिन्छ । यसको अर्थ हावामा कालो धूवाँसँगै पैसा पनि उडिरहेको छ । कतिपय सूचना इण्टरनेटबाट डाउनलोड गरेर डेस्कटपमा नै पढ्दा हुनेमा प्रिण्ट गरिन्छ जसले कागज र मसी खेर गइरहेको हुन्छ ।
उत्पादनको हरेक चरणमा खेर गइरहेको छ कि छैन, जोखीम छ की छैन केलाएर, विश्लेषण गर्नुका साथै सो विषयमा अध्ययन अनुसन्धान गरी खेर तथा जोखीम न्यूनीकरणका उपाय पहिचान गरी क्रमशः कार्यान्वयनमा ल्याउनुपर्छ । सामान्य व्यवस्थापन र लेआउट मिलाउन सक्दा पनि खेर जाने घट्ने एवम् जोखीम न्यूनीकरण हुने अवस्था आउँछ । खर्च घटाउनु भनेको आम्दानी बढाउनु पनि हो । एउटा व्यवस्थापक राम्रो योजनाकार पनि हुनुपर्छ । समय समयमा मेशिन र संरचनाको मर्मत सम्भार, तैलीकरणबाट पनि स्वच्छतर उत्पादनमा सघाउँछ । स्वच्छतर उत्पादनका लागि कच्चा पदार्थको छनोट, ढुवानी, भण्डारण र वितरणमा पनि सचेत हुनुपर्छ । स्वच्छतर उत्पादन प्रविधिको प्रयोगले उत्पादन र उत्पादकत्व वृद्धि हुने, जोखीम न्यूनीकरण हुने, नाफाको स्तर बढ्ने, उद्योगका कामदार, छिमेकी, सरकार र स्वयम् उद्योगपतिलाई फाइदा हुने देखिन्छ । नेपालमा उत्पादकत्व वृद्धि र स्वच्छतर उत्पादनको काम गर्ने विशेषज्ञ संस्थाको स्थापना र सबलीकरणतर्फ ध्यान जानु जरुरी छ ।
लेखक इलाका प्रशासन कार्यालय लेखनाथ, कास्कीका उपसचिव हुन् ।