वरिष्ठ कलाकार स्व. रिमालको अन्त्येष्टि

भदौ १५, काठमाडौं । वरिष्ठ कलाकार एवम् रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर स्व. हरिप्रसाद रिमालको शुक्रवार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाए । स्व. रिमालको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो । स्व. रिमाललाई उनका ज्येष्ठ सुपुत्र अरुणले दागबत्ती दिएका हुन् । अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा पुराना तथा नयाँ पुस्ताका कलाकार, सङ्गीतकर्मी, चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो । रिमालको ९२ वर्षको उमेरमा शुक्रवार बिहान उनकै निवास नयाँ वानेश्वरमा निधन भएको हो । रिमालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मध्याह्नसम्म उनकै निवासमा राखिएको थियो । वि.सं. १९८२ असोज ३ गते शुक्रवार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उनका दुई छोरा र एक छोरी छन् । नाटककार बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’बाट १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र ‘आमा’बाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए । उनी २००७ सालमा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा…’ बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भए । उनले गाएको ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता सदाबहार गीतहरु चर्चित छन् । सरल र स्वभाविक अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत उनलाई २०७१ सालमा सिजी कामना अवार्ड समारोहमा रू. एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान प्रदान गरिएको थियो । रासस