भूकम्पले तहसनहस भएपछि बन्द भएको तातोपानी नाका अभैm खुल्न सकेको छैन । कारण भूकम्प भनिए पनि सुरक्षा चासोका कारण चीनले यो नाका खोल्न नमानेको अर्थ लगाइँदै आएको छ । पटकपटक यो नाका खोल्न प्रयास नभएको होइन । यो नाका खोल्न भौतिक पूर्वाधार र अन्य तयारीका काम अघि बढाउन नेपाल र चीनबीच पटकपटक समझदारीपत्रमा हस्ताक्षर भए पनि नाका सञ्चालनमा आउन भने सकेको छैन । पछिल्लो समाचार अनुसार भने चीन तातोपानी नाका खोल्न तयार भएको छ । दुवै देशले आआफ्नो तर्फबाट सरकारी अधिकारीसहितको निरीक्षण टोली बनाएका छन् । आगामी मे १ बाट नाका सञ्चालनमा ल्याउने नेपाल सरकारले दाबी गरेको छ ।
२०७२ वैशाखको भूकम्पपछि बन्द भएको यो नाका खुलाउन चीन सरकार उदासिन रहेको भन्दै आलोचना पनि हुँदै आएको थियो । चीनले तातोपानी क्षेत्र भौगर्भिक रूपमा जोखीमपूर्ण रहेको भन्दै बस्ती बसाल्न अयोग्य भनी त्यहाँको मानवबस्ती अन्यत्र स्थानान्तरण गरेको थियो ।
तातोपानी बन्द भएपछि चीनले रसुवागढी नाकालाई बढी प्राथमिकता दिएको छ । तर, तातोपानीभन्दा यो नाकाबाट सामान ल्याउँदा महँगो पर्ने गरेको छ । तातोपानी नाका सस्तो सामान किन्न खोज्ने नेपालीहरूका लागि आकर्षण पनि थियो । तातोपानीमा नुहाउन जाने र फर्केर आउँदा केही सामान लिएर आउने प्रचलन चलेको थियो । त्यसो हुँदा तातोपानी बजार निकै चम्केको थियो । खासमा सीमा जिल्लाका नागरिकलाई विनाभिसा आवतजावतको सुविधा भए पनि सबैजसो नेपाली चिनियाँ बजार पुग्थे । यसलाई कडाइ गर्न चीन सरकारले प्रयास गरे पनि त्यति सहज थिएन । अब फेरि तातोपानी खुल्यो भने पहिलाको जस्तै गरी खुल्ला र ?
मनोज बस्नेत
बौद्ध, काठमाडौं ।








