भदौ १३ र १४ गते काठमाडौंमा भएको चौथो बिमस्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । यसमा यस क्षेत्रबाट गरीबी घटाउने, लगानी र व्यापारका माध्यमबाट आर्थिक उन्नतिको दिशामा अग्रसर हुने प्रतिबद्धतासमेत व्यक्त भएको छ । यस लेखमा नेपालसँग साझेदार यी देशको व्यापारको अवस्था कस्तो रहेको छ, एउटा नमूना स्वरूप गत आर्थिक वर्षमा भएको आयात तथा निर्यात अवस्थाबारे विश्लेषण गर्ने प्रयास गरिएको छ ।
बङ्गलादेश
बङ्गलादेशबाट गतवर्ष आयात भएको प्रमुख मालवस्तुमा फलफूलको जूसको मिश्रण थियो । उक्त वर्ष यसको आयात करीब १ अर्ब रुपैयाँको भयो । बङ्गलादेशबाट भएको कुल आयात रकम करीब रू. ४ अर्ब ८० करोडमा यसको अंश २१ प्रतिशत थियो । दास्रोमा करीब ८२ करोड रुपैयाँबराबरको जूटको रेसा (आयातको १७ प्रतिशत) आयात भयो, तेस्रोमा चिनी ३४ करोड रुपैयाँबराबरको (आयातको ७ प्रतिशत) तथा चौथोमा २३ करोडको आलु (४ प्रतिशत) आयात भयो ।
यसै गरी गतवर्ष नेपालबाट बङ्गलादेशतर्फ निर्यात भएको मालवस्तुमा दाल तथा गेडागुडी रू. ९६ करोडको (बङ्गलादेश निर्यात भएको कुल रकम रू. १ अर्बमा यसको अंश ८९ प्रतिशत) भयो भने दोस्रोमा अन्न तथा गेडागुडीको ढुटो तथा चोकर करीब ७ करोडको (७ प्रतिशत) निर्यात भयो ।
भूटान
भूटानबाट गतवर्ष आयात भएको प्रमुख मालवस्तुमा जिप्सम एनहाइड्राइट करीब रू. ८९ करोडको भयो । भूटानबाट भएको कुल आयात रकम करीब रू. १ अर्ब ६३ करोडमा यसको अंश ५४ प्रतिशत थियो । दोस्रोमा करीब रू. ५१ करोड रुपैयाँबराबरको कोइला आयात (भूटानबाट भएको आयातको ३१ प्रतिशत) भयो, तेस्रोमा धातु हटाउने ड्रिलिङ मेशिन रू. ६ करोड रुपैयाँबराबरको (आयातको करीब ४ प्रतिशत) तथा चौथोमा बुल्डोजर तथा एस्क्याभेटरहरू रू. ४ करोडको (आयातको करीब ३ प्रतिशत) आयात भयो ।
यसै गरी गतवर्ष नेपालबाट भूटानतर्फ निर्यात भएका मालवस्तुमा प्राइमरी सेल तथा ब्याट्री रू. २ करोडको (भूटान निर्यात भएको कुल रकम करीब रू. ८ करोडको २७ प्रतिशत अंश) भयो भने दोस्रोमा स्वास्नीमान्छे तथा केटीहरूको सुतीको सुटहरू (ज्याकेट, ब्लेजर आदि) रू. १ करोड १२ लाखको (करीब १५ प्रतिशत अंश) निर्यात भयो । तेस्रोमा दालमोठ, पापड, भुजिया तथा चमेना रू. ९७ लाखको (१३ प्रतिशत अंश) तथा चौथोमा साबुन रू. ७२ लाखको (८ प्रतिशत अंश) निर्यात भयो ।
भारत
भारतसँगको नेपालको व्यापार अन्य मुलुकको तुलनामा निकै बढी तथा विविधतायुक्त छ । गतवर्ष आयात भएको प्रमुख मालवस्तु डिजेल हो । रू. ९६ अर्ब ७३ करोडको डिजेल आयात भयो । भारतबाट भएको कुल आयात रकम करीब रू. ८११ अर्बमा यसको अंश १२ प्रतिशत हो । दोस्रोमा करीब रू. ५७ अर्ब ३६ करोड रुपैयाँ फलाम तथा इस्पातका अर्धतयारी वस्तुहरू आयात (आयातको ७ प्रतिशत) भयो, तेस्रोमा सिमेन्ट क्लिङ्कर रू. ३० अर्ब रुपैयाँबराबरको (आयातको ३ दशमलव ७ प्रतिशत) तथा चौथोमा पेट्रोल रू. २८ अर्बको (आयातको करीब ३ दशमलव ५ प्रतिशत) तथा करीब यसकै हाराहारीमा एलपी ग्यास रू. २७ अर्बको (आयातको करीब ३ दशमलव ४ प्रतिशत) आयात भयो ।
यसैगरी गतवर्ष नेपालबाट भारततर्फ निर्यात भएका मालवस्तुमा अलैंची रू. ४ अर्ब ८४ करोडको (भारत निर्यात भएको कुल रकम करीब रू. ४६ अर्ब ६० करोडको १० दशमलव ३९ प्रतिशत अंश) भयो भने दोस्रोमा फलपूmलको जूसको मिश्रण रू. ३ अर्ब ४२ करोड ३८ लाखको (७ दशमलव ३५ प्रतिशत अंश) निर्यात भयो । तेस्रोमा संश्लेषित तन्तुको धागोबाट बुनिएका कपडाहरू रू. ३ अर्ब ७ करोडको (६ दशमलव ५८ प्रतिशत अंश) तथा चौथोमा कालो चिया रू. २ अर्ब ८५ करोडको (६ दशमलव ११ प्रतिशत अंश) निर्यात भयो ।
म्यान्मा
गतवर्ष म्यानमाबाट आयात भएको प्रमुख मालवस्तुमा बोडी (गेडागुडीका रूपमा, सुक्खा) करीब रू. २ अर्ब ६ करोडको आयात भयो । म्यान्माबाट भएको कुल आयात रकम करीब रू. ४ अर्ब १२ करोडमा यसको अंश ५० प्रतिशत थियो । दोस्रोमा करीब रू. १ अर्ब १७ करोड रुपैयाँबराबरको पिजन पीज (एक प्रकारको केराउ) आयात भयो जुन म्यानमारबाट भएको आयातको २८.५ प्रतिशत थियो । तेस्रोमा काष्ठजन्य उत्पादन भेनिर सीट र प्लाइउडका लागि सीट रू. ४१ करोड रुपैयाँबराबरको (आयातको करीब १० प्रतिशत) आयात भयो ।
यसैगरी गतवर्ष नेपालबाट म्यान्मातर्फ निर्यात भएको मालवस्तुमा पुराना वा नयाँ कपडाका धरा, डोरी आदि रू. ९ लाखको (म्यानमारतर्फ कुल निर्यात रकम करीब रू. ९ लाख ५० हजारको ९९ दशमलव ७ प्रतिशत अंश) भयो भने दोस्रोमा रू. ३ हजारको तरकारी निर्यात भयो ।
श्रीलङ्का
श्रीलङ्काबाट गतवर्ष आयात भएको प्रमुख मालवस्तुमा वायु वा ग्यास तरल पार्ने यन्त्रावली करीब रू. ६ करोडको आयात भयो । श्रीलङ्काबाट भएको कुल आयात रकम करीब रू. ३१ करोडमा यसको अंश २० प्रतिशत थियो । दोस्रोमा सफ्टवेयर करीब रू. ४ करोड ३४ लाख रुपैयाँबराबरको आयात (श्रीलङ्काबाट भएको आयातको १४ प्रतिशत) भयो । तेस्रोमा औद्योगिक मोनोकार्बोजाइलिक प्mयाट्टी एसिडलगायत रू. ४ करोड ३४ लाख रुपैयाँबराबरको आयात (श्रीलङ्काबाट भएको आयातको १४ प्रतिशत) भयो । चौथोमा जीवित पक्षीहरू रू. ३ करोडको ( आयातको करीब १० प्रतिशत) आयात भयो ।
यसैगरी गतवर्ष नेपालबाट श्रीलङ्कातर्फ निर्यात भएको मालवस्तुमा औषधोपचार, सर्जिकल वा विज्ञानसम्बन्धी उपकरणहरू रू. ७४ लाखको (श्रीलङ्का निर्यात भएको कुल रकम करीब रू. ९० लाखको ८३ प्रतिशत अंश) भयो भने दोस्रोमा पुराना वा नयाँ कपडाका धरा, डोरी आदि रू. ६ लाख को (करीब ६ प्रतिशत अंश) निर्यात भयो । तेस्रोमा हाते पेण्टिङ वा ड्रइङहरू रू. ५ लाखको (करीब ६ प्रतिशत अंश) निर्यात भयो ।
थाइल्याण्ड
गतवर्ष थाइल्याण्डबाट आयात भएको प्रमुख मालवस्तुमा फलफूल र वनस्पतिको रस समावेश नभएको अल्कोहलरहित पेयपदार्थ करीब रू. १ अर्ब ५७ करोड ५० लाखको आयात भयो । थाइल्याण्डबाट भएको कुल आयात रकम करीब रू. १३ अर्ब १३ करोडमा यसको अंश १२ प्रतिशत थियो । दोस्रोमा एक्रेलिक वा मोडाक्रेलिक कृत्रिम रेशा करीब रू. १ अर्ब २८ करोड ४४ लाख रुपैयाँबराबरको आयात (आयातको १० प्रतिशत) भयो । तेस्रोमा पोलिभिनायल क्लोराइड रू. ९७ करोड ५२ लाख रुपैयाँबराबरको आयात (आयातको ७ दशमलव ४ प्रतिशत) भयो । चौथोमा सामान ओसारपसार गर्ने डबल क्याब पिकअप गाडी रू. ९५ करोड ४९ लाखको ( आयातको ७ दशमलव २७ प्रतिशत) आयात भयो ।
यसैगरी गतवर्ष नेपालबाट थाइल्याण्डतर्फ निर्यात भएको मालवस्तुमा कार्पेट तथा फ्लोर कभरिङ रू. ९० लाखको (थाइल्याण्ड निर्यात भएको कुल रकम करीब रू. ३ करोड २६ लाखको २८ प्रतिशत अंश) भयो । दोस्रोमा चौपाया (बोभाइन जातिको) हिमीकृत (फ्रोजेन) मासु ६८ लाखको (करीब २१ प्रतिशत अंश) निर्यात भयो । तेस्रो, स्वास्नीमान्छे तथा केटीहरूको सुतीका पोशाकहरू रू. ३६ लाखको (करीब ११ प्रतिशत अंश) निर्यात भयो । चौथोमा ५०० देखि ८०० सिसीसम्मका मोटरसाइकल रू. १६ लाखको (करीब ५ प्रतिशत अंश) निर्यात भयो ।
लेखक भन्सार विभागका तथ्याङ्क अधिकृत हुन् ।











