अमेरिकी सरकारको पोषण निर्देशिका (२०१५–२०२०)का अनुसार अमेरिकी जनतामा ५० प्रतिशत रोगको कारण खान नजान्दा भएको हो जसका कारण अमेरिकामा वर्षेनि १ खर्ब ७६ अर्ब डलर स्वास्थ्य सेवामा खर्च र ६९ अर्ब डलरको उत्पादकत्वमा कमी आएको एक अध्ययनको निष्कर्ष रहेको छ । यही विषयसमेतलाई दृष्टिगत गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जनताका लागि पाँचवर्षे पोषण निर्देशिका र शारीरिक अभ्यास निर्देशिका जारी गरेको छ ।
नेपालका सम्बन्धमा विश्व खाद्य सङ्गठनले १७ ओटा मार्गदर्शन औंल्याएको छ । तीमध्ये आठओटा मार्गदर्शन अनावश्यक उपभोगलाई नियन्त्रण गर्ने विषयमा केन्द्रित छन् । प्रशोधित अन्नको न्यूनतम उपभोग, बोसो र तैल पदार्थको सीमित उपभोग, न्यूनतम नून ग्रहण, कम चिनी र चिनी हालेका वस्तु उपभोग, न्यून आराम, शारीरिक परिश्रमसहितको सक्रिय जीवनयापन, पेयपदार्थ, अल्कोहल र सुर्तीजन्य वस्तुको न्यून उपभोग, २ वर्षसम्मको बच्चालाई बेबीफूड कम स्तनपान बढी गर्नुपर्ने यस निर्देशिकाको सार रहेको छ ।

संयुक्त राज्य अमेरिकाले आफ्ना जनताका लागि जारी गरेको पोषण निर्देशिकामा दैनिक २ दशमलव ३ ग्रामसम्म मात्र सोडियम सेवन गर्न भनेको छ । विश्व स्वास्थ्य सङ्गठनको सिफारिशले पनि ५ ग्रामभन्दा कम नून सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने सिफारिश गरेको छ । तर, हामी दैनिक १० देखि १३ ग्राम नून सेवन गरिरहेका छौं । यसबाट तीनओटा हानि भइरहेका छन् : पहिलो अनावश्यक रूपमा नूनको आयात, दोस्रो रक्तचापलगायत रोगका कारण शारीरिक शिथिलता, घराशयी खर्च तनावमा वृद्धि र तेस्रो औषधिहरूको खपतमा वृद्धि । यस्ता कैयौं क्षेत्र छन्, जहाँ उपभोग गर्न नजानेर नेपालमा पनि हालका दिनमा मोटोपनको समस्या विकराल हुँदै गएको छ । अनावश्यक खानपिन र शारीरिक परिश्रमको कमीका बहुआयामिक असर छन् ।

वैदेशिक रोजगारका कारण जीवनशैलीमा आएको परिवर्तनले गर्दा नेपालमा पनि शहरी क्षेत्रका साथसाथै ग्रामीण भेगमा समेत मोटोपना र अधिक तेल, बोसो, परिष्कृत खाद्यान्न, तयारी खाना, फ्लेवरयुक्त पेयदार्थ, मदिरा र सुर्ती चुरोटको सेवनमा वृद्धि भएको विभिन्न अध्ययनले देखाएका छन् । विज्ञापनका प्रभाव र देखासिकीका कारण यी वस्तुको सेवनमा नयाँ पुस्ता झन् बढी आकर्षित देखिन्छ । कार्यव्यस्तता, विज्ञापनको प्रभाव र देखासिकीका कारण शिशुहरूलाई पनि बोतलको दूध, बेबीफूड, आधुनिक मालिस क्रिम, पेटबोतल आदिको प्रयोग गर्ने प्रवृत्ति पनि मौलाउँदो छ । अनावश्यक खानपिन (चिनीजन्य, तेलजन्य, बोसोजन्य तथा लवणजन्य पदार्थको अनावश्यक ग्रहण)का कारण मोटोपनालगायत अधिकांश गैरसरुवा रोगहरूलाई मात्र आमन्त्रण गरिरहेका छैनन् परन्तु अनावश्यक रूपमा मुलुकले आयातको भारी पनि बोकिरहनुपरेको छ । खाद्यान्न ग्रहणमा सचेतना आउँदा साथ यस्ता वस्तुहरूको आयात र उपभोगमा तुरुन्तै कमी आउने वस्तुहरू हुन् ।
संयुक्त राज्य अमेरिकाजस्तो विश्वको देशले आफ्ना जनताका लागि हरेक ५ वर्षमा बृहत् र निरन्तरको अनुसन्धानपश्चात् पोषण निर्देशिका जारी गरिरहेको छ । हामीजस्ता अविकसित देशले आफ्ना बुद्धिले नभ्याए पनि कम्तीमा पनि संयुक्त राज्य अमेरिकाजस्तो सफल र उच्चकोटिको अनुसन्धान पद्धतिको संस्थागत स्मरण भएको मुलुकले बसालेको पद्धतिलाई अनुसरण गरी सम्पूर्ण नेपाली जनताका लागि राष्ट्रिय पोषण निर्देशिका जारी गरी लागू गर्नुपर्छ ।

यस्तो निर्देशिका तर्जुमा गर्न देहायका आधारहरू बनाइनुपर्छ :
पहिलो, नेपालले परम्परादेखि उपभोग गर्दै आएका स्वास्थवर्धक खाद्यान्न तथा खाद्य परिकारलाई नेपाली पोषण सूचीमा सूचीकृत गर्नुपर्छ ।
दोस्रो, परम्परागत नेपाली भण्डारण र उपभोग शैली, परम्परागत बीउ, नश्ल, परम्परागत पद्धति र परम्परागत स्थानमा मौलिक रूपबाट उत्पादित वस्तुहरूलाई राष्ट्रिय पोषण निर्देशिकाको आधारका रूपमा लिइनुपर्छ ।
तेस्रो, विकसित मुलुकहरूले आफ्ना नागरिकका लागि व्यवस्था गरेको स्वस्थ व्यक्तिका आवश्यक न्यूनतम क्यालोरीको मापदण्डलाई हामीले पनि अनुसरण गर्नुपछ ।
चौथो, अन्य मुलुकले रैथाने खाद्यान्न र खाद्य परिकारलाई आफ्नो राष्ट्रिय खानाको मूलधारमा कसरी समाहित गरेका छन् भन्ने दृष्टान्तलाई ध्यान दिँदै शारीरिक व्यायामको राष्ट्रिय मापदण्ड पनि समानान्तर रूपमा तर्जुमा गर्नु आवश्यक छ ।
सारांशमा भन्नुपर्दा पोषण विज्ञ, पाकशास्त्री, खाद्य इतिहासको विज्ञ, कानूनविद्, कृषिविज्ञ आदि समेतको संलग्नतामा राष्ट्रिय पोषण निर्देशिका तर्जुमा परियोजना सम्पन्न गरिनुपर्छ । संयुक्त राज्य अमेरिकाले झैं हरेक ५–५ वर्षमा राष्ट्रिय पोषण निर्देशिका परिमार्जन र परिष्कृत गर्दै जनतालाई स्वस्थ बनाउने अभियानमा लाग्नुपर्छ ।
मुलुकका जनता प्रारम्भमा राष्ट्रिय पोषण निर्देशिकाप्रति जागरुक नहुने हुँदा पाँचओटा उपाय (दण्डात्मक, प्रचारात्मक, कानूनी, उत्प्रेरणात्मक— ठूलाबडाले तैल, बोसो, परिष्कृत, मदिरा, चुरोट सुर्ती, फ्लेवरयुक्त पेयपदार्थ सेवन नगरी साधारण प्रकृतिका खाद्यान्न र परिकारहरू उपभोग गर्ने संस्कारको विकास र प्रवद्र्धनात्मक)बाट राष्ट्रिय पोषण निर्देशिकाअनुसार जनतालाई सही बाटोमा डोर्याउनुपर्छ ।
उपर्युक्त व्यवस्थाले वर्षेनि देहायका वस्तुहरूको आयातमा भारी कमी हुने, यस्ता वस्तुको कच्चापदार्थ उत्पादन गर्ने भूमिको बचत भई सो भूमि धान, मकैलगायत प्रधान बालीका लागि उपलब्ध हुने, यस्ता वस्तु आयात गर्दा तथा एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा लाग्ने इन्धन खर्च बचत हुने, जनताको स्वास्थ्यमा सुधार आउने, कार्यशैलीमा छरितोपन आउने र सोका कारण औषधि, स्वास्थ्य उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको आयातमा समेत कमी आउने र स्वास्थ्यमा गरिने लगानी बचत भई सो लगानी उत्पादनमूलक क्षेत्रमा लगानी भई मुलुकमा थप रोजगारीको अवस्था सृजना हुने देखिन्छ ।
वर्तमान उपभोग प्रवृत्ति कायम रहेमा आगामी ५ वर्षमा उपर्युक्त वस्तुको आयातको प्रक्षेपण तालिकामा प्रस्तुत गरिएको छ ।
सारांशमा भन्नुपर्दा राष्ट्रिय पोषण नीति लागू गर्दा जनताको स्वास्थ्य राम्रो हुने तर जनताको स्वास्थ्य पनि बिगार्ने, देशको व्यापार सन्तुलन पनि बिगार्ने खालका आयातहरू प्रतिस्थापन हुने देखिन्छ । राम्रो स्वास्थ्य भएमा जनताहरूको उत्पादकत्व, स्फूर्ति, मेधा र सक्रियतामा वृद्धि हुने, स्वास्थ्य क्षेत्रमा खान नजानेकै कारण भइरहेको अनावश्यक खर्च नियन्त्रण हुने र सो बचत उत्पादनमूलक क्षेत्रमा भई मुलुकमा रोजगारीका थप अवसर सृजना हुने हुँदा यो विषयलाई अविलम्ब सम्बोधन गरिनु आवश्यक छ । ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने सरकारको चाहनामा राष्ट्रिय पोषक नीति पनि सहायक सिद्ध हुने निश्चित छ ।
साथै, राष्ट्रिय पोषण निर्देशिका लागू भई जनताले अङ्गीकार गरेपछि आउने स्वास्थ्य र जीवनयापन तथा शैलीमा सुधारमा देहायको क्षेत्रमा अप्रत्यक्ष प्रभाव पर्ने र त्यसले मुलुकलाई बहुआयामित लाभ हुने हुँदा औषधि, प्याथोलोजी किट्स र केमिकलको आयात, मेडिकल सामग्रीको आयात, ढुवानीमा हुने कमीले इन्धनको आयात, जनतामा बचत र सो बचतको लगानीको अवसर, स्वस्थ्य शरीरका कारण बढ्ने उत्पादकत्वका क्षेत्रमा थप अनुसन्धान हुन पनि त्यत्तिकै आवश्यक छ ।
लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।











