संरक्षणको दायरामा पर्ने रचना वा कार्य धेरै थरीका हुन्छन् । गत अङ्कमा तिनका पाँच समूह पहिचान गरेका थियौं— साहित्यिक रचना, नाटक, साङ्गीतिक रचना, कलात्मक रचना र व्युत्पन्न कार्य । प्रतिलिपि अधिकार ऐनमा उल्लेख भएका संरक्षण भागी रचनाहरूलाई पनि यिनै पाँच समूहमा राख्न सकिन्छ । तीमध्ये प्रतिलिपि अधिकार संरक्षण हुन सक्ने विभिन्न साहित्यिक रचनाबारे चर्चा गरिसकिएको छ । प्रस्तुत अङ्कमा नाटक र साङ्गीतिक तथा कलात्मक रचनाबारे विवेचना गरिनेछ ।
नाटक भनेको नृत्य अभिनय मनोरञ्जन वा अन्य कलात्मक कार्यलाई छापामा वा छायाँमा वा इलेक्ट्रोनिक माध्यममा दृश्यमान रूपमा प्रस्तुत गर्नु वा उतार्नु हो । यसको लागि पनि पर्याप्त मात्रामा मानवीय सीप र विवेकको खाँचो पर्छ । कतिपय मुलुकले नाटकको किताबलाई भने साहित्यिक रचनाका रूपमा स्वीकारेका छन् । अन्यले किताबकै रूपमा भए पनि अभिनयको पक्षसमेत हुने भएकाले नाटकको समूहमा राखेका छन् । त्यसैले नाटक वा साहित्यिक कार्य यही नै हुनुपर्छ भनी स्पष्ट सीमारेखा कोर्न गाह्रो पर्छ । मुलुकको कानूनमा व्यवस्था भएअनुसारको विधामा संरक्षण प्रदान गरे हुने देखिन्छ । हाम्रो कानूनले स्पष्ट नपारे पनि पाश्चात्य कानूनअनुसार देहायका दुई अनुच्छेदमा चर्चा गरिएका कार्यहरू नाटक हुन् ।
स्टेज मञ्चनका लागि तयार गरिएका श्रव्यदृश्य सामग्रीका लिखतहरू नाटक हुन् । त्यस्तै रेडियो, टेलिभिजन, चलचित्र,, डीभीडी, अनलाइन दृश्यहरूकोे कार्यक्रमको प्रस्तुतिसँग सम्बन्धित लिखतहरू नाटकीय कार्यअन्तर्गत पर्छन् । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा खेल सञ्चालन कार्यहरू पनि यसैअन्तर्गत पर्छन् । अनधिकृत व्यक्तिबाट गरिएको यस्ता कार्यक्रमको कुनै अंशको छायाङ्कन र सार्वजनिक प्रस्तुति गैरकानूनी मानिन्छ । रेडियो टीभीबाट सञ्चालन हुने कार्यक्रमजस्तो कुराकानी, अन्तर्वार्ताजस्ता सामग्रीमा यदि अग्रिम रूपमा स्क्रीप्ट तयार पारिएको रहेनछ वा प्रसारणसँगै छायाङ्कन गरिएको रहनेछ भने प्रतिलिपि अधिकार नरहन पनि सक्छ । तर, अग्रिम रूपमा वा प्रसारणको क्रममा छायाङ्कन गरिएको भए प्रतिलिपि अधिकार रहन्छ ।
नाटक, गीति नाटक, प्रहसनजस्ता कार्य खुला रूपमा वा विद्युतीय सामग्रीको सहायताबाट सञ्चालन भएको भए पनि तिनमा नाटकको प्रमुख तŒव अभिनय विद्यमान भएसम्म प्रतिलिपि अधिकार रहन्छ । ऐनले श्रव्यदृश्य रचनामा प्रतिलिपि अधिकार रहने व्यवस्था गरेको छ । यस्ता सामग्री नाटकका रूपमा भने संरक्षण पाउने र नपाउने दुई प्रकारका हुन्छन्— स्क्रिप्ट तयार गरिएको र मौलिकता पनि भएको भए संरक्षण भागी हुन्छन्, नत्र हुँदैनन् । जस्तो एउटा व्यावसायिक व्यक्तिले तयार पारेको भिडियो वा सिनेमाले संरक्षण पाउँछ भने एउटा सामान्य रूपमा स्मार्ट फोनबाट खिचिएको घरपरिवारको भिडियोले नपाउन सक्छ । सिनेमा पनि विद्युतीय माध्यममा भएको नाटक नै हो । नाट्यकला (करियोग्राफिक वर्क) पनि कुनै विद्युतीय माध्यममा स्थिरीकरण गरिएको भए नाटकको रूपमा र निर्देशिका वा कार्यविधि पुस्तिका भए साहित्यिक रचनाका रूपमा संरक्षण दिइन्छ ।
प्रतिलिपि अधिकार रहने अर्को क्षेत्र साङ्गीतिक रचना हो । साङ्गीतिक कार्य भनेको शब्दहरूसहितको वा शब्दविनाको अथवा कुनै ध्वनिसहितको वा ध्वनिविनाको गीत संरचना हो । साङ्गीतक कार्यमा स्वर र लय समानान्तर रहने भए तापनि संरक्षण पाउन प्रतिलिपि अधिकारका शर्तहरू खासगरी मौलिकताको अंश हुनैपर्छ, स्थिरीकरण त विद्युतीय माध्यममा गरिएको पनि हुन सक्छ वा कागजमा लेखिएको साङ्केतिक लिखत पनि हुन सक्छ । शब्दसहितको साङ्गीतिक रचनामा सङ्गीत र गीतका अलगअलग दुई व्यक्तिका प्रतिलिपि अधिकार पनि हुन सक्छन् वा सङ्गीतकार स्वयम्का शब्द भएमा प्रतिलिपि अधिकार एउटै व्यक्तिमा पनि हुनसक्छ ।
साङ्गीतिक रचनालाई प्रतिलिपि अधिकार दिँदा अलगअलग गीतका लागि बेग्लाबेग्लै वा धेरै गीतको सङ्कलनलाई एल्बमका रूपमा पनि दिन सकिन्छ । कम्प्युटरमा नै लेखेको बेलामा स्क्रिनमा प्रदर्शन गरिएको अवस्थामा संरक्षण उपलब्ध हुँदैन । तर, हार्ड डिस्कमा स्थिरीकरण गरेको भए संरक्षण उपलब्ध हुन्छ । ध्वनीअङ्कन बढी साङ्गीतिक कार्यमा सान्दर्भिक हुने भए तापनि यसलाई छूटै अधिकारका रूपमा चर्चा गरिनेछ ।
आजको अङ्कमा चर्चा गरिने प्रतिलिपि अधिकारको तेस्रो र अन्तिम विषय कलात्मक रचना हो । कलात्मक रचनाको संरक्षण पनि कलात्मक आकर्षण वा त्यसको सौन्दर्यले होइन, मौलिकताले नै निरूपण गर्छ । यसका पनि धेरै भेद छन् जस्तो पेण्टिङ, चित्रकला, नक्सा, चार्ट, खाकाचित्र, फोटोकपी, काष्ठकला, मूर्तिकला, हस्तकला, लिथोग्राफी, फोटोग्राफी, आर्किटेक्चरल डिजाइन आदि रचनाहरू पर्छन् । अब प्रमुख कलात्मक रचनाहरूको चर्चा गरौं ।
पेण्टिङ तथा चित्रकला कागज, क्यानभास, भित्ता कम्प्युटर वा स्मार्ट फोन आदि जुनसुकै माध्यममा चित्रण गरिएका र तीनवर्षे बालक वा सिपालु व्यवसायी जोसुकैका कृति भए पनि प्रतिलिपि अधिकारका शर्त पूरा भएसम्म संरक्षण भागी हुन्छन् । फोटोग्राफी सम्बन्धमा नेगेटिभ, पोलोराइड वा डिजिटल जे भए पनि प्रतिलिपि अधिकार रहन्छ । हस्तकला सामग्रीहरू माटो, काठ, कागज, ढुङ्गा, कपडा, धातुपदार्थ आदि माध्यममा खोपेर, बुनेर, कुँदेर, जडेर वा लिथो गरेर, बुट्टा काटेर, ढलाइ गरेर (काष्टिङ) वा छापेर तयार गरिएका मूर्ति, ढाका, बाटिक, बुट्टे झ्याल, ढोका, थाङ्का पेण्टिङ आदि कलात्मक सामग्रीहरूले पनि संरक्षण पाउँछन् ।
कुनै भौतिक संरचना निर्माणका लागि, पेण्टिङ वा चित्र तयार पर्न, नयाँ डिजाइनका लुगा सिलाउन, नयाँ डिजनइनका गलंैचा र कपडा बुन्नका लागि वा अन्य प्रयोजनका लागि अग्रिम रूपमा तयार गरिने ढाँचा, खाकाचित्र, नक्सा र चार्टले पनि संरक्षण पाउँछन् । कुनै भवन वा भौतिक संरचना, कुनै सामग्रीका नवीन उत्पादन, मन्दिर, देवल पाटीपौवा, हिटी, पुल, टावर, गेट, पार्क, आदि वास्तुकलाले पनि प्रतिलिपि अधिकार पाउन सक्छन् । कमिक र कार्टुनका छापा प्रकाशन साहित्यिक कार्यमा र तिनमा पात्रहरूको स्वरूप कलात्मक कार्यअन्तर्गत संरक्षण गरिन्छ । तिनको नाम भने चिह्नबाट संरक्षण गर्नुपर्ने हुन्छ ।
जुन औद्योगिकक डिजाइनहरूमा प्रतिलिपि अधिकारका तŒवहरू पाइन्छन् त्यस्ता डिजाइनले कलात्मक रचनाका रूपमा संरक्षण पाउन सक्छन्, जस्तो : कपडा वा भाँडाबर्तनको सतहका प्रिण्ट वा पेण्टिङ, व्यापार सञ्चालनमा कुनै प्रख्यात व्यक्ति वा ठाउँको चित्रको प्रयोग, व्यापार चिह्न वा लेबुलका डिजाइनहरू, कपडाको बुनोट, वाल पेपर, भवन र अन्य भौतिक संरचनाका डिजाइन आदि । लोकगीत, लोककथा उखान लोकसङ्गीतजस्ता ध्वन्यात्मक प्रस्तुति र जनसंस्कृतिलाई साहित्यिक, साङ्गीतिक वा नाटक समूहअन्तर्गत तथा परम्परागत रूपमा चलिआएका पहिरन, घरेलु सामान, तथा कृषि उपकरण, हस्तकलाजस्ता वस्तुलाई कलात्मक समूहमा राखेर संरक्षण गर्न सकिन्छ ।
लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।











