नेपालले सन् २०२० मा विदेशी पर्यटक २० लाख पु¥याउने लक्ष्य राखेको छ । मुलुकको आर्थिक विकासका लागि प्रमुख मानिएको पर्यटन क्षेत्रलाई राज्यले नीति र कार्यक्रममा निकै जोडले उठाउने गरेको छ । पर्यटक हिमाल आरोहणदेखि पदयात्रामा समेत आउने गरेका छन् । नेपाल धेरैको रोजाइको गन्तव्य भएकाले विदेशी पाहुनाको चाप पनि विस्तारै बढेको छ । तर, यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ । पर्यटन व्यवसायको विभिन्न सेवा प्रदान गर्ने संस्था बगे्रल्ती खुलेका छन्, लगानी पनि प्रशस्त छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी ८ लाखभन्दा बढी व्यक्तिले यसबाट रोगजारी पाएका छन् । लगानी बढेसँगै व्यवसाय विस्तार गर्न सकिएको छैन । यस्तोमा चाँडो पैसा कमाउन गलत मनसाय भएका व्यक्ति पनि पर्यटन क्षेत्रमा प्रवेश गरेका छन्, जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा मात्र होइन, पर्यटक ठग्ने गलत क्रियाकलाप पनि भित्रिएको छ । त्यस्ता विकृतिविरूद्ध हामी पर्यटन व्यवसायीहरूले साङ्गठनिक रूपमै आवाज उठाउँदै आएका छौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले सन् २०१४ देखि नै फेक रेस्क्यू रोक्न उचित नियम बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको हो । यसले पर्यटन क्षेत्रलाई दीर्घकालीन असर गर्छ भनेर सरकारलाई सचेत पारिएकै हो । तर, सम्बन्धित निकायले बेलामा विचार नपुर्याउँदा पर्यटन क्षेत्रमा समस्या आएको हो । अहिले नेपालको पर्यटन क्षेत्र नै एक प्रकारले बदनाम भएको छ । केही व्यक्तिको लोभलालच र त्यसमा आँखा चिम्लिने सरकारी निकायको प्रवृत्तिले सिङ्गो पर्यटन क्षेत्रले ठूलो समस्या भोग्नुपर्ने अवस्था आउँदै छ ।
पदयात्रा होस् या हिमाल आरोहणमा भइपरी आउने दुघर्टना या अपर्झट बिरामी भए तत्काल उद्धार गर्नुपर्ने हुन्छ । तर, यही उद्धार गर्ने नाममा फेक रेस्क्यू रिर्पाेट बनाएर पर्यटकले बीमा गरेको विदेशी बीमा असुल्ने धन्दा हुँदै आएको छ । पर्यटन क्षेत्रमा भएका यस्ता गलत कामले पर्यटन क्षेत्रमा धक्का लागेको छ । यसमा व्यवसायीको गल्ती त छँदै छ तर सरकार पनि यसमा दोषी छ । पर्यटक उद्धारका लागि आवश्यक कार्यविधि र मापदण्ड बनाउन व्यवसायीहरूले पनि माग गर्दै आएका थिए । तर, सरकारले रेस्क्यूसम्बन्धी कुनै मापदण्ड बनाएको छैन । केही व्यवसायीले यही छिद्रमा टेकेर बिरामी नभएका पर्यटकलाई पनि बिरामी बनाई उनीहरूको बीमा रकम असुल्ने गरेको विदेशी बीमा कम्पनीको भनाइ सार्वजनिक भएको छ ।
कुनै पर्यटक पर्वतारोहण, पदयात्रामा जाँदा वा अन्य पर्यटकीय गतिवधिमा संलग्न हुँदा सामान्य बिरामी हुन सक्छन् । चिसोका कारण सामान्य रूघाखोकी लाग्न सक्छ । यस्तोमा उनीहरूलाई उद्धारको नाममा फिर्ता ल्याइन्छ, त्यो पनि एउटै हेलिकोप्टरमा धेरै जना सँगै ल्याइन्छ । कोही त बिरामी नै नभएका पनि हुन सक्छन् । त्यसपछि प्रत्येक पर्यटकलाई एक्लाएक्लै उद्धार गरिएका भनी छुट्टाछुट्टै भुक्तानी दिन बीमा कम्पनीलाई भनिन्छ । पर्यटकले नेपाल आउँदा बीमा गरेका हुन्छन् । त्यो बीमाको रकम प्राप्त गर्न उद्धार नगरी कुनै उद्धार गरिएको विवरण पठाउनु फेक रेस्क्यू हो । यसमा फेक बीमा क्लेम गरेर बार्गेनिङ गरिन्छ । फेक रेस्क्यूका लागि पर्यटन व्यवसायी, अस्पताल, गाइड, बीमा कम्पनी, पर्यटनसम्बद्ध कर्मचारीको मिलेमतो हुन्छ । यसबाट पर्यटकलाई आर्थिक रूपले असर नगरे पनि त्यसले देशको पर्यटन क्षेत्र बदनाम भएको छ । त्यस्तो घटनाले नेपालको पर्यटन क्षेत्रमा गलत सन्देश गएकाले राज्यले यसमा सुधार ल्याउनुपर्छ र उद्धारसम्बन्धी मापदण्ड तथा नीतिहरू तर्जुमा गर्न जरुरी छ ।
फेक रेस्क्यू धन्दामा केही टूर एण्ड ट्राभल कम्पनी संलग्न छन् तर सबै संलग्न भएजस्तो प्रचार भइरहेको छ । ट्राभल एजेन्सीहरूले हिमाल आरोहण र पदयात्राका क्रममा पर्यटकलाई झाडापखाला लाग्ने औषधि खुवाएर बिरामी बनाउने गरेको समेत आरोप लगाउने गरिएको छ । यदि यो आरोप सत्य हो र कुनै एजेन्सीले यस्तो गरेको प्रमाणित हुन्छ भने त्यसलाई कारबाही गर्नैपर्छ । यसमा कुनै पनि व्यवसायीको असहमति हुन्न । तर, मापदण्डको अभावमा यसको दुरुपयोग भएको हो भन्ने हामीले बिर्सनु हुन्न । कानूनी रूपमा यसमा कैफियत पनि देखिन्न । फेक रेस्क्यूले पर्यटन क्षेत्र बदनाम हुन्छ भनेर नेपालभित्रै आवाज उठेको हो । तर, अन्तरराष्ट्रिय सञ्चारमाध्यमले यो विषय उठाएपछि मात्रै सरकारले थाहा पाएजस्तो गरेको छ ।
नेपालको पर्यटन क्षेत्र अहिले ‘फेक रेस्क्यू’बाट निकै तरङ्गित देखिन्छ । बिरामी पर्यटकको उद्धारको नाममा गलत काम गर्नेमाथि कारबाही नभए बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्डमा रहेका बीमा कम्पनीहरूले फेक रेस्क्यूमा संलग्न कम्पनीलाई कारबाही नभए सेप्टेम्बरपछि बीमा नगर्ने जानकारी दिएको एएफपीले भनेको छ । यसरी अन्तरराष्ट्रिय कम्पनीले बीमा नगरे हिमाली क्षेत्रको पर्यटन सङ्कटमा पर्ने निश्चित छ । बीमा नगरी कुनै पनि पर्यटक भ्रमण गर्दैनन्, गर्न दिने कुरा पनि आउँदैन । साहसिक पर्यटनका लागि नेपालले ख्याति कमाएको छ र साहसिक पर्यटनका लागि बीमा अनिवार्य नै हुन्छ । अझ भन्ने हो भने कुनै पनि देशको भ्रमण गर्न बसाइ अवधिभरका लागि बीमा अनिवार्य गर्ने प्रचलन धेरै देशमा छ । तर, गलत विवरण पेश गरी बीमा रकम कुम्ल्याउने हो भने अन्तरराष्ट्रिय छवि त खराब हुन्छ नै साथै पर्यटन क्षेत्रको भविष्य पनि अन्धकार हुन्छ । पर्यटन क्षेत्रलाई बदनाम गराउने यस्तो काम रोकिनैपर्छ । कारबाही गरेर मात्र समस्याको समाधान हुँदैन । पहिलो त मापदण्ड र नीति निर्माण गरेर आगामी दिनमा यस्तो हुन नदिने वातावरण तयार पारिनुपर्छ । अर्को, यसबाट बनेको नराम्रो छविलाई राम्रो बनाउन सुधारको सन्देश पनि ती देशमा पु¥याउनुपर्छ । नेपालले बनाएका नयाँ नीतिहरूले यस्तो गलत प्रवृत्तिलाई रोक्ने विश्वास दिलाउन सक्नुपर्छ ।
नेपालमा लागतभन्दा कममा टिकेट बेच्ने र पर्यटकलाई उद्धारका नाममा चोर बाटोबाट नाफा लिने गरेको आरोप लाग्नु निकै गम्भीर विषय हो । उद्धारमा संलग्नहरूको व्यावसायिक अनुमतिमाथि पनि प्रश्न उठेको छ । यसर्थ गठित समितिले खास कम्पनी वा व्यक्तिमाथि कारबाही गर्नमात्र केन्द्रित हुनु हुन्न । आगामी दिनमा यसलाई रोक्न आवश्यक मापदण्ड तयार गर्नमा केन्द्रित हुुनुपर्छ । पर्यटन क्षेत्रका अन्य सेवामा पनि यस्तै गलत अभ्यास छन् । तिनलाई रोक्न पनि समितिले केही नीति र मापदण्ड तयार पारी प्रस्तुत गर्नु बढी उपयुक्त हुन्छ । समस्या आउँछन् तर तिनको समाधान टालटुले नभई दीर्घकालीन हुनुपर्छ । फेक रेस्क्यूको चोरबाट पर्यटन क्षेत्रलाई पर्ने असरबारे सरकार बेलैमा सचेत हुनुपर्छ । भएका गल्तीलाई बेलैमा सुधार्नुपर्छ । भ्रमण वर्ष २०२० का लागि तयारी गर्दै गर्दा आएको यो नकारात्मक समाचारले यस क्षेत्रलाई गम्भीर असर पार्न सक्छ । यस्तोमा छानविन समितिले पर्यटन क्षेत्रका अन्य विकृतिलाई समेत अध्ययन गरी पर्यटन क्षेत्रलाई दिगो र भरपर्दो बनाउने सुझावहरू तयार पार्नुपर्छ ।
लेखक नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्व महासचिव हुन् ।











