भीमदत्त नगरपालिका : जैविक पर्यटन मार्गमा ट्रीगार्डनसहित वृक्षरोपण
महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा निर्माण गरिएको जैविक–धार्मिक पर्यटकीय मार्गको किनारमा ट्रीगार्डनसहित वृक्षरोपण शुरू गरिएको छ । नगरपालिकाले आर्थिक वर्षमा २०७४/७५ मा ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थललाई जोड्न रौटेला–ब्रह्मदेव जैविक धार्मिक पर्यटन मार्गको १२ किलोमिटर ट्र्याक खोलिएको छ । नगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख जीवन यादवले गत आर्थिक वर्षमा ट्र्याक खोलिएको जैविक पर्यटकीय मार्ग छेउमा वृक्षरोपण शुरू गरिएको बताए । जैविक मार्गको सुरक्षा र सौन्दर्यता बढाउन वृक्षरोपण गरिएको शाखा प्रमुख यादवको भनाइ छ । अहिलेसम्म जैविक मार्ग छेउमा नगरपालिकाले आफ्नै नर्सरीमा उत्पादित पाँच सय बढी विरुवा रोपिसकेको छ । शाखा प्रमुख यादवका अनुसार बोटबिरुवालाई जोगाउन ट्रीगार्डनसहित वृक्षरोपण गरिएको छ । फूलसहितका विभिन्न पाँच जातका बिरुवालाई बाँसको छ्वालीबाट निर्मित जालीले घेरबार गरिएको छ । चुरेसँगै जोडिएका जिल्लाका प्रमुख धार्मिक स्थल रौटेला विष्णु मन्दिर, भमकेनी धाम, भिलमिला ताल, सिद्धनाथ ब्रह्मदेव मन्दिर र काली ताललगायता क्षेत्र जोड्न नगरपालिकाले सडक निर्माण गरेको हो । अहिले उक्त सडकलाई प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखी डीपीआर निर्माण अघि बढाएको छ । करीब ३ करोड अनुमानित लागत रहेको उक्त सकडलाई प्रदेश सरकारले ‘काली–गोदावरी र कर्णाली’ नामकरण गरी गौरवका योजनाको रूपमा अगाडि बढाइरहेको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed