भदौ १७, काठमाडौं । बङ्गबन्धु अन्तरराट्रिय गोल्डकप फुटबल प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन नेपाल पाँचौँ संस्करणका लागि समूह ‘ए’मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आइतवार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेका छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।
पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ । नेपाल बङ्गबन्धु कपको अघिल्लो संस्करण सन् २०१६ को विजेता हो । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । रासस